सुरुका २ खेल गुमाएको पोखरा त्यसयता लगातार ५ खेलमा विजयी
काठमाडौँ — प्रशिक्षक सुमन श्रेष्ठले ठीकै भनेका हुन्, पोखरा थन्डर्सलाई हेर्ने धेरैको नजर अलिकति फरक छ । सायद असमान पनि । झन् त्यसमाथि यो टिमले सुरुआती दुई खेल गुमाएर खराब सुरुआत पनि गरेको थियो । नेपाल सुपर लिग (एनएसएल) को सुरुतिरै उसको एफसी चितवनविरुद्धको खेल कसले मात्र बिर्सन सक्छ र ?
अन्योलता र अनिश्चिताबीच यो खेल ढिला सुरु भएको थियो । अहिले यही टिम ‘क्वालिफायर–टु’ पुगेको छ र महत्त्वाकांक्षी पनि भएको छ ।
पोखराले इलिमिनेटरमा चितवनलाई हराउँदै फाइनल नजिक पुगेको हो । यस्तोमा पोखरा रहेको छ, बिस्तारै लय समात्दै अगाडि बढेको टिम । यसको ठीकविपरीत चितवनको सुरुआत आफैंमा उत्कृष्ट थियो, लगातार सुरुआती दुई खेल जितेको थियो । त्यसपछि लगातार ओरालो लागेको चितवनको खेल अन्ततः ‘इलिमिनेटर’ मा आएर पूर्णविराम लागेको छ ।
अब बुधबार हुने ‘क्वालिफायर–टु’ मा पोखराले धनगढी एफसीको सामना गर्नेछ । यसको विजेता भने फाइनल पुग्नेछ र त्यहाँ उसलाई प्रतीक्षा गरिरहेको हुनेछ, ललितपुर सिटी एफसीले ।
फाइनल अगाडिको अन्तिम खेलमा पोखरा जितका लागि पूर्णतः हकदार नै रह्यो । चितवनका प्रशिक्षक नवीन न्यौपानेको शब्दमै पोखराले धेरै राम्रो खेल्यो भने चितवनले खराब । सुरुकै दुई खेल गुमाएयता पोखरा त्यसपछिका पाँच खेलमा अपराजित रहेको छ ।
यो नै एनएसएलको तीन सिजनमा पोखराको सबैभन्दा लगातारको राम्रो प्रदर्शन रहेको छ । पोखराको प्रदर्शन साँच्चै कति राम्रो रहेको छ भने यी पाँच खेलमा उसले चारपल्ट ‘क्लिन सिट’ समेत राखेको छ ।
१३ मिनेटमा ३ गोल
दुवै टिमले एकपछि अर्को अवसर सिर्जना गरे पनि खेलको निर्णायक मोड भने दोस्रो हाफको १३ मिनेट रह्यो र यसमै चितवनले तीन गोल गरेको हो । यो जितका नायक रहे, घानाका खेलाडी जोए आइडु र उनले दुई गोल गरे । अर्को गोल भने आत्मघाती रह्यो । खेलको ६३ औं मिनेटमा अभिषेक लिम्बूले समीर तामाङको ‘क्रस’ लाई आफ्नै पोस्टको दिशा दिए । आइडुले ७२ औं मिनेटमा दोस्रो गोल थपे र यसमा पनि भाग्यको ठूलो हात रह्यो ।
आइडुको प्रहार चितवनका जोनाथन क्याम्पबेललाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थयो । तेस्रो गोलका लागि पोखराले धेरै समय कुर्नु नै परेन र ७६ औं मिनेटमा चन्दन दासको पासमा पेनाल्टी एरियाबाट चलाखीपूर्ण प्रहार गर्दै गोल गरे ।
त्यसपछिको खेल त एक प्रकारले औपचारिक मात्र रह्यो । ‘खेलमा यस्तो मोड आउँछ, यसको अर्थ यो होइन किन हामीले पहिलो हाफमा नराम्रो खेलेका थियौं । मलाई लाग्छ, पूरा प्रतियोगितामै पोखराको यो अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो,’ प्रशिक्षक श्रेष्ठले थपे ।
उनको पनि मत के थियो भने प्रतियोगिता अगाडि बढ्ने क्रममा टिममा समन्वय मिल्न थालेको हो । ‘सुरुको खेलमा के भएको थियो, त्यो सबैलाई थाहा नै छ । अझ हामीले त्यस अगाडि राम्रो तयारी पनि गर्न पाएका पनि थिएनौं । तर दिन बित्दै गएपछि हाम्रो टिमको प्रदर्शन पनि बिस्तारै राम्रो हुन थाल्यो ।
यसका लागि म टिम व्यवस्थापनलाई पनि धन्यवाद दिन चाहन्छु । अब त हाम्रो लक्ष्य भनेको उपाधि जित्ने नै हो । हामी त्यसमै केन्द्रित हुनेछौं ।’
निराश चितवन
चितवन पहिलो पटक प्रतियोगिताको प्ले–अफ त पुगेको थियो, तर उसको यात्रा त्योभन्दा अगाडि बढ्न सकेन । ‘प्ले–अफ पुग्दा हामी कति धेरै खुसी थियौं, तर अहिले इलिमिनेटरमा पराजित हुँदा उत्तिकै दुःखी छौं,’ प्रशिक्षक न्यौपानेले भने, ‘हामीले राम्रो सुरुआत त लियौं, तर त्यसपछिका खेलमा हाम्रो प्रदर्शन कमजोर भयो । विशेषतः हाम्रो आक्रामण निर्णायक हुन सकेन । मलाई लाग्छ, हाम्रा खेलाडी थाक्न थालेका थिए, त्यसको स्पष्ट प्रभाव देखियो ।’
प्रशिक्षक न्यौपाने अलिकति अभाग्यशाली पनि रहे । पोखराले यसअघिका दुई जिसन खेल्दा उनी नै प्रशिक्षक थिए । यसपल्ट मात्र चितवन आएका हुन् । तर उनकै टिमलाई हराएर पोखरा ‘क्वालिफायर–टु’ पुगेको छ । उनी तीनै सिजन प्रशिक्षकको भूमिकामा हुने एक मात्र भाग्यमानी रहे ।
उनी उत्तिकै अभाग्यमानी किन पनि रहे भने उनले प्ले–अफमा एकै खेल जित्न सकेनन् । पछिल्लो सिजन पोखराले प्ले–अफमा दुई खेल गुमाएको थियो, यसपल्ट जित्दा पोखरा उनको प्रतिद्वन्द्वी टिम रह्यो ।
