नेपालगन्ज — लुम्बिनी कप आमन्त्रण महिला फुटबल प्रतियोगितामा शनिबार नेपाल पुलिस क्लबले सहज जित निकालेको छ ।पुलिस क्लबले भारतको सिलिगुढी एफसीमाथि ४–० को सहज जित निकाल्दै प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ ।
नेपालगन्ज रंगशालामा पुलिसलाई जित दिलाउँदा निर्मला उपाध्यायले २, मीना देउवा र कप्तान निरु थापाले १–१ गोल गरेका थिए । प्लेयर अफ द म्याच निर्मला भइन् ।
पुलिसले फाइनल पुग्नका लागि वैशाख ९ मा विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । आर्मीले उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश फुटबल संघलाई ४–० ले नै पराजित गरेको थियो ।
पहिलो हाफमै पुलिसले चार गोल गरेको थियो । मीनाले खेलको १३ औं मिनेटमै गोल गरिन् । ५ मिनेटपछि नै निर्मलाले पुलिसको अग्रता दोब्बर बनाइन् । पुलिसले २२ औं मिनेटमा आफ्नो अग्रता ३–० ले फराकिलो बनायो । निरुले पेनाल्टीमार्फत गोल गरेकी थिइन् । निर्मलाले ३० औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेकी हुन् । दोस्रो हाफमा पाहुना टोलीले सुधारिएको खेल खेले पनि गोल निस्किएन ।
आइतबार घरेलु टोली बाँके ११ र रौतहट जिल्ला फुटबल संघबीच प्रतिस्पर्धा हुनेछ ।
