धनगढी — संस्कार क्रिकेट प्रतियोगिताको समूह चरणका खेल आइतबार सम्पन्न भएका छन् । धनगढीको फाप्ला क्रिकेट मैदानमा वैशाख ३ देखि सुरु प्रतियोगिताको सोमबार सेमिफाइनल खेल हुनेछन् । आइतबार सम्पन्न समूह चरणका अन्तिम खेलमा उत्तर त्रिशूल र सायल गाउँपालिका डोटीको टिम विजयी भए ।
पहिलो खेलमा उत्तर त्रिशूलले संस्कार विद्याश्रमलाई २ विकेटले पराजित गर्यो । सायल गाउँपालिकाले दोस्रो खेलमा आवर ड्रिम ट्रेनिङ सेन्टरलाई १० विकेटले पराजित गर्यो । कैलालीको गोदावरी नगरपालिका—८ स्याउलेस्थित संस्कार विद्याश्रमको आयोजनामा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा नेपाल वेस्टर्न एकेडेमी धनगढी र नारायण स्पोटर््स एकेडेमी तथा सायल गाउँपालिका र युथ क्लब टीकापुरबीच हुनेछ । बुधबार हुने फाइनलको विजेताले १ लाख ११ हजार १ सय ११ र उपविजेताले ५५ हजार ५ सय ५५ नगद पाउने आयोजक समितिका रामचन्द्र शाहीले जानकारी दिए ।
