तनावपूर्ण खेलका क्रममा तीन रातो कार्ड, धनगढी एफसीलाई फाइनल पुग्ने अर्को मौका
काठमाडौँ — धनगढीका मोहमद अल जाउएनी खेलाडीभन्दा पनि बढी राम्रा अभिनेता रहेछन् । दशरथ रंगशालामा उनले जुन अभियन गरे, त्यसका लागि उनी ओस्कारको हकदार हुन सक्छन् । खेलले १७ मिनेट छुँदा उनले डरलाग्दो तरिकाले खुट्टा माथि उठाएर ललितपुर सिटीका मणिकुमार लामामाथि फाउल खेले । तर, उल्टै मैदानमा ढलेर घाइते भएको अभिनय गरे ।
यसमा रेफ्री उमेश बिडारी पनि भावुक भए । मणिकुमारलाई सिधै रातो कार्ड देखाए । उनी जत्तिको फिफा रेफ्रीले पनि कसरी गलत निर्णय गर्न सक्नेछन्, यो उदाहरणमा दर्ज हुनेछ ।
अनि खेलाडीले कसरी कसैलाई भ्रमित पार्न सक्छ भनेर पनि । यसरी सुरुमै ललितपुर १० खेलाडीमा समेटिएको थियो । तर टोलीले पूरा खेल अवघिमा त्यसको छनक देखाएन र बहादुरीपूर्वक खेल्यो । यस्तोमा क्वालिफायर–वानमा जित ललितपुरकै रह्यो । यसका लागि टोली हकदार पनि थियो । धनगढीलाई तनावपूर्ण तर उत्तिकै रोमाञ्चक खेलमा हराएर ललितपुर लगातार दोस्रोपल्ट नेपाल सुपर लिग (एनएसएल) को फाइनल पुगेको छ । अब डिफेन्डिङ च्याम्पियनका रूपमा टोलीसामु उपाधि रक्षाको अवसर हुनेछ ।
त्यति मात्र होइन, उपाधि भिडन्तअघि ललितपुरले मज्जाले एक साता जति समय तयारी र आराम गर्न पाउनेछ । धनगढीका लागि पनि सबै सम्भावना सकिएको छैन । धनगढीले अब क्वालिफायर दुईमा खेल्नेछ । टोलीले यसअघि दुई संस्करणमा क्वालिफायर–वान जितेको थियो ।
धनगढीको प्रतिद्वन्द्वी को हुनेछ, त्यसका लागि आइतबारको खेल कुर्नुपर्नेछ । इलिमिनेटरमा चितवन र पोखरा भिड्दैछन् । त्यसको विजेताले हो फाइनल पुग्नका लागि धनगढीसँग भिड्ने ।
दुई विदेशी खेलाडीको उत्कृष्ट गोल
ललितपुरले आफ्नो जितका लागि दुई विदेशी खेलाडीलाई धन्यवाद दिनुपर्नेछ । संयोगले यी दुवै गोल उत्कृष्ट रहे । विशेषतः दोस्रो हाफमा ललितपुरले आक्रामक खेलेको थियो । कुनै पनि समय प्रदर्शनमा १० खेलाडीमा भएको छनक दिएन । हाइटीका केरभेन्स फिल्स बेलफोर्टले ५७ औं मिनेटमा फ्रिकिकबाट आकर्षक गोल गरे । पेनाल्टी एरियाको ठीक बाहिरबाट उनले प्रहार गरेको फ्रिकिक धनगढीले तेर्स्याएको मानवीय पर्खाल छल्दै सिधै पोस्टको दिशा लिन सफल भयो ।
धनगढीका गोलरक्षक वालिड बिरोउलाई लागेको थियो, बल आफ्नो दायाँतर्फ आउनेछ । तर, बलले तय गरेको दिशा उनको बायाँ थियो । त्यसपछि गोल फर्काउने पालो भने धनगढीको रह्यो । वैकल्पिक खेलाडीको रूपमा मैदान छिरेका जर्जप्रिन्स कार्कीले ६२ औं मिनेटमा लतिलपुरको कमजोर क्लिरेन्समा पाएको अवसरमा सबैभन्दा पहिला छातीले बल नियन्त्रणमा लिए र त्यसलाई सिधै पोस्टतर्फ प्रहार गरे । ललितपुरका गोलरक्षक जेफेरी बाल्टुससामु त्यसलाई रोक्ने अवसर नै बनेन ।
खेलको निर्णायक मोड ७९ औं मिनेटमा आएको थियो, जतिबेला ललितपुरले दोस्रोपल्ट अग्रता लियो । अन्ततः यो नै निर्णायक बन्यो । पापा इहोउ केबेले मैदानको लगभग मध्यभागबाट बल अगाडि बढाए । उनका अगाडि थिए धनगढीका चार खेलाडी । तर तिनीहरूले यी फ्रान्सेली खेलाडीलाई रोक्न सकेनन् । उनले पनि मौकाको फाइदा उठाएर गरेको शक्तिशाली प्रहार उत्तिकै उत्कृष्ट गोलमा परिणत भयो । धनगढीसामु स्तब्ध हुने बाहेक अर्को विकल्प थिएन । ललितपुरले भने धनगढीमाथि आफ्नो प्रभुत्व कायम नै राख्यो ।
अहिलको खेलसमेत गरेर यी दुई टिम एक आपसमा पाँचपल्ट भिडेका छन् । त्यसमध्ये ललितपुर कुनै पनि खेलमा पराजित रहेको छैन । कुरा यत्तिकैमा सकिन्न, खेल सकिएपछि ललितपुरका केही खेलाडीको जितको भयंकर अभिमान पनि देखियो । त्यसलाई उनीहरूले मैदानमै प्रस्तुत गर्न चुकेनन् । एकै क्षणमा स्थिति तनावपूर्ण बनेको थियो । त्यही स्थितिमा पापा डिएकेटले रातो कार्ड खाए, त्यसको अर्थ उनले अब फाइनल खेल्न पाउने छैनन् । धनगढीका काइसेडोले पनि रातो कार्ड खाए । उनले अब इलिमिनेटर खेल्न पाउने छैनन् ।
‘फुटबलमा यस्तै हुन्छ’
पूरा घटनाक्रमलाई लिएर धनगढीका प्रशिक्षक हुँवा मार्टिनेज म्यानुयलले भने, ‘फुटबलमा यस्तै हुन्छ । हामीले आज धेरै अवसर सिर्जना गर्यौं, तर त्यसको फाइदा लिन सकेनौं । फुटबलले कहिलेकाहीं दुःख पनि दिन्छ । हाम्रो लागि सम्भावना समाप्त भएको पनि छैन । अब हामी त्यसमै केन्द्रित हुनेछौं ।’ उनले ललितपुरले गरेका दुवै गोलको प्रशंसा गरे र त्यसलाई उत्कृष्ट माने । यस सिजन धनगढीको यो लगातार दोस्रो हार हो र सम्भवतः टिमले ‘मोमेन्टम’ गुमाएको छ ।
लिग चरणको आफ्नो अन्तिम खेलमा पनि धनगढी पराजित भएको थियो । ललितपुर सिटीका प्रशिक्षक साइमन ग्रेसनले भने आफ्नो टिमको प्रदर्शनमा गर्व रहेको बताए । उनको भनाइ थियो, ‘हामी सुरुमै १० खेलाडीमा सीमित रह्यौं, तर राम्रो खेल्यौं । खेलमा हाम्रो टिमले एकजुट भएर खेल्यो ।’ उनले पनि आफ्नो टिमले गरेका दुई गोलको प्रशंसा गर्न कन्ज्युस्याइँ गरेनन् र त्यसलाई उत्कृष्ट माने । उनले फुटबलमा खेलाडी अनुशासित रहनुपर्ने सल्लाह पनि दिए ।
ललितपुरका कप्तान अनन्त तामाङले भने आफ्नो टिम लगातार दोस्रो फाइनल पुगेको खुसी रहेको बताए । यसका लागि ललितपुरको टिम व्यवस्थापनलाई उनले धन्यवाद दिए । खेलपछि पहेँलो कार्ड सामना गरेका उनी त्यत्तिकैमा रोकिएनन् । उनले थपे, ‘खेलको अन्त्यमा जे जस्तो भयो, त्यसका लागि धनगढीका खेलाडी र समर्थकसँग क्षमा माग्न चाहन्छु । कप्तानका रूपमा त्यतिबेला मैले त्यो स्थितिमा आफ्ना खेलाडीलाई संयमित राख्न सक्नुपर्ने थियो ।’ त्यसो भए, के रेफ्री बिडारी र धनगढीका जाउएनीबाट पनि यस्तै इमान्दारितापूर्वक भनाइ आउने छ त ? नत्र मणिकुमारको दोष नै के थियो र ?
