अफगानिस्तानविरुद्ध जित निकाल्छौँ भन्ने आत्मविश्वास थियो तर वर्षा बाधक भयो : प्रशिक्षक शक्ति गौचन

वैशाख ६, २०८२

न्युज एजेन्सी नेपाल

We were confident that we would win against Afghanistan, but rain prevented us: Coach Shakti Gauchan

काठमाडौँ — नेपाली यू–१९ क्रिकेट टोलीका प्रशिक्षक शक्ति गौचनले विश्वकपमा छनोटबाट वञ्चित भएपछि अफगानिस्तानविरुद्ध जित निकाल्न सक्छौँ भन्ने आत्मविश्वास रहेको बताएका छन्।

घरेलु मैदानमा भएको यू–१९ विश्वकप एसिया छनोटमा अफगानिस्तानविरुद्धको निर्णायक खेलमा शनिबार वर्षा बाधक हुँदा नेपाल नवौँपल्ट विश्वकप खेल्नबाट वञ्चित भएको हो। यससँगै नेपाली टोलीका प्रशिक्षक गौचनले अफगानिस्तानविरुद्ध जित निकाल्ने आत्मबल खेलाडीहरूमा बलियो भए पनि वर्षा बाधक भएको बताएका हुन्।

प्रशिक्षक गौचनले तीन महिना छनोटको तयारी गर्दा विश्वकप खेल्ने सपना देखिए पनि वर्षाका कारण सम्भव नभएको बताए। खेल सम्भव नभएपछि पत्रकार सम्मेलनमा प्रशिक्षक गौचनले भाग्यले पनि साथ नदिँदा धेरै दुःख लागेको र यो अवस्था स्वीकार्न तयार रहेको प्रतिक्रिया दिए।

यद्यपि, शनिबारको खेलमा नतिजा जे सुकै आए पनि अफगानिस्तानसँगको शृंखलामा जसरी पुनरागमन गरिएको थियो, त्यो हेर्दा हराउन सक्छौँ भन्ने आत्मविश्वास टोलीमा रहेको पनि उनको भनाइ छ। शृंखलाका तीन खेलमध्ये दुई खेलको नतिजामा आफूहरूले गरेको प्रदर्शनका आधारमा खेलाडीहरूमा आत्मविश्वास बढेको अवस्था रहेको उनले उल्लेख गरे।

यो ब्याचको यू–१९ टोलीका अधिकांश खेलाडी नयाँ भए पनि क्षमतावान रहेको र उनीहरूले आफूलाई हरेक दिन सुधार गर्दै लगेको प्रशिक्षक गौचनले बताए। अहिले विश्वकपमा छनोट हुन असफल भए पनि यो पुस्ताका खेलाडीले राष्ट्रिय टोलीबाट खेल्ने विश्वास उनले व्यक्त गरे।

उनले विश्वकपमा छनोट हुन नसकेपछि खेलाडीहरू धेरै रोएको र आफूलाई पनि चित्त दुखेको बताए। यद्यपि, आफ्नो करियरमा योभन्दा ठूलो दुःख र सुख भोगेको भन्दै खेलाडीलाई सम्झाएको उनले उल्लेख गरे। 'यो दुःखबाट अगाडि बढेर सुधार गर्न सके अझ राम्रो नतिजा आउन सक्छ,' भन्ने सम्झाइ पनि उनले दिएको बताए।

वर्षा बाधक भयो, अफगानिस्तान अघि रह्यो

पाँच राष्ट्र सहभागी यू–१९ विश्वकप एसिया छनोटमा लिगको विजेताले विश्वकपमा स्थान बनाउने प्रावधान थियो। लिगमा समान सात अंक भए पनि नेट रनरेटमा नेपाललाई पछि पार्दै अफगानिस्तानले सन् २०२६ मा नामिबिया र जिम्बाब्वेमा हुने विश्वकपमा स्थान बनायो।

मूलपानी क्रिकेट मैदान (तल्लो) मा शनिबार प्रतिस्पर्धा हुनुअघि नेपाल र अफगानिस्तान दुवै टोली अपराजित थिए। नेट रनरेटमा अफगानिस्तान अगाडि रहेकाले नेपालका लागि खेल हुनु आवश्यक थियो।

बिहान केही समय वर्षा हुँदा मैदान भिजेको थियो। करिब पाँच घण्टाको पर्खाइपछि सम्भव नदेखिएपछि म्याच अफिसियलले खेल रद्द गरे। अफगानिस्तानको नेट रनरेट ४.८१७० र नेपालको ३.५७६४ थियो। नेपाल सन् २०२२ पछि फेरि विश्वकपमा छनोट हुन असफल भएको हो।

नेपाली यू–१९ टोलीका कप्तान नरेन भट्टले खेल नै खेल्न नपाई छनोट हुन असफल हुँदा धेरै दुःख लागेको बताए। टोली राम्रो रहेको र प्रदर्शन पनि त्यहीअनुसार भएकाले अफगानिस्तानविरुद्ध जित निकाल्ने आत्मविश्वास रहेको उनको भनाइ थियो। तर वर्षाका कारण सम्भव नभएको भन्दै उनले भने, 'वर्षा हाम्रो नियन्त्रणमा थिएन । हामीले आफूलाई सम्झाएका छौं ।'

अफगान प्रशिक्षकको प्रशंसा

अफगानिस्तानका प्रशिक्षक रेइस अहमदजईले नेपाली टोली बलियो रहेको र उनीहरूले राम्रो प्रदर्शन गरेको उल्लेख गर्दै विश्वकपमा छनोट हुन नसक्नु दुर्भाग्य भएको बताए। आफ्नो टोलीविरुद्ध नेपाली खेलाडीले राम्रो प्रदर्शन गरेकामा प्रशंसा गर्दै उनले भने, 'नेपाली टोली विश्वकप खेल्न योग्य छ।'

'आफू यूद्धकै अवस्थाबाट हुर्किएको र यस्तो सफलता आफ्ना देशका लागि मुस्कान हुने विश्वास छ,' उनले भने ।

न्युज एजेन्सी नेपाल

Link copied successfully