नेपालगन्ज — राष्ट्रिय महिला टोलीका खेलाडीसहित उत्रिएको त्रिभुवन आर्मी क्लबले लुम्बिनी कप आमन्त्रण महिला फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
नेपालगन्ज रंगशालामा शुक्रबार आर्मीले सुदूरपश्चिम एफसीविरुद्ध ४–० गोलको नतिजा निकाल्दै अघिल्लो चरणको यात्रा गरेको छ । २०८१ मा उपाधि जित्न नसकेको आर्मी यस वर्ष उपाधि लक्ष्यसहित मैदान उत्रिएको थियो । छैटौं मिनेटमा आर्मीले अग्रता लिएको थियो ।
आर्मीकी अनिता लम्जेलले गोल गरिन् । उनले ५३ औं मिनेटमा अर्को गोल थपिन् । हिमा चौधरीले ५६ औं मिनेट र तुलसा बोहराले ७८ औं मिनेटमा गोल गरी आर्मीलाई एकपक्षीय स्कोरमा जित दिलाए । सुदूरपश्चिमका खेलाडीले राम्रो प्रदर्शन गरे पनि गोल निकाल्न सकेनन् । प्लेयर अफ द म्याच आर्मीकी अनिता लम्जेल भइन् ।
राष्ट्रिय टिमकी विमला बिके, चन्द्रा भण्डारीलगायतका खेलाडी आर्मी टिमबाट उत्रिएका थिए । आर्मीका प्रशिक्षक चक्र तामाङले जित हात पारे पनि खेल सोचेजस्तो राम्रो नभएको बताए । उनले भने, ‘जुन नतिजा आयो, त्यो सोचेजस्तो थिएन । अन्जना रानामगरको अभाव महसुस गर्यौं ।’
कप्तान सुनीता चौधरीले पनि जितमा खुसी भए पनि खेल सोचेजस्तो नभएको बताइन् । ‘नयाँ मैदान र खेलाडीबीचको समन्वय अलि मिलेन,’ उनले भनिन्, ‘अलिकति हामीले आफ्नो स्तर कायम गर्न सकेनौं ।’
प्रतियोगिताका लागि आर्मी बुधबार नै नेपालगन्ज आएर प्रशिक्षणमा व्यस्त रहेको थियो । आर्मी ब्यारेक पछाडिको मैदानमा लगातार तीन दिनदेखि आर्मी टिम प्रशिक्षणमा थियो ।
सुदूरपश्चिमका प्रशिक्षक यज्ञप्रसाद श्रेष्ठले आफ्ना खेलाडीले सोचेभन्दा मिहिनेत खेलेको बताउँदै उनीहरूको प्रदर्शनबाट आफू खुसी रहेको सुनाए ।
‘धेरै जुनियर भए पनि सबैले राम्रो खेले । सूचना ढिलो आएकाले ४ गतेमात्र टिम तयार गरेका हौं । त्यो हिसाबले हाम्रो खेल राम्रो नै भयो,’ उनले भने, ‘डिफेन्सिभ खेल्नुपर्नेमा एट्याकमा धेरै खेल्यौं, त्यो नै भुल भयो ।’
सुदूरपश्चिमकी कप्तान अन्जली चन्दले सोचेभन्दा राम्रो खेल खेलेको बताइन् । ‘भित्री मन हारेकामा दुःख छ, तर आफ्नो टिमको प्रदर्शनबाट भने सन्तुष्ट हुने ठाउँ छ,’ उनले भनिन् ।
शनिबार पुलिस र भारतको सिलिगुढी क्लबबीच खेल हुनेछ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेको प्रतियोगिता विजेताले ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । बाँके जिल्ला फुटबल संघको समन्वयमा अन्तरालले आयोजना गरेको प्रतियोगितामा तीन विभागीयसहित आठ टिमले भाग लिएका छन् ।
