गढीमाई प्रिमियर लिग : उद्घाटन खेलमा अल्फा एभेन्जर्स विजयी

वैशाख ६, २०८२

शंकर आचार्य

Gadhimai Premier League: Alpha Avengers won the opening match

पर्सा — वीरगन्जको हरपतगन्जमा शनिबारदेखि सुरु भएको गढीमाई प्रिमियर लिग क्रिकेट टुर्नामेन्टको उद्घाटन खेलमा अल्फा एभेन्जर्स क्लब विजयी भएको छ । सानो पाइला टिमलाई ५६ रनले पराजित गर्दै अल्फा एभेन्जर्सले विजयी सुरुवात गरेको हो ।

निर्धारित १६ ओभरको खेलमा सानो पाइलाले टस जितेर अल्फा एभेन्जर्सलाई व्याटिङको निम्तो दिएको थियो । अल्फा एभेन्जरले ६ विकेट क्षतिमा १ सय ५४ बनायो । जवाफमा सानो पाइला १७ दशमलव ४ ओभरमा ९८ रनमै अलआउट भयो । 

‘म्यान अफ द म्याच’ अल्फा एभेन्जर्सका असिम अन्सारी भए । उनले २२ बलमा ३४ रन बनाउनुका साथै २ विकेटसमेत लिएका थिए ।

दोस्रो खेलमा ताम्बश्री नेपालले हीरा वारियर्सलाई १७ रनले पराजित गरेको छ । हीरा वारियर्सले टस जितेर फिल्डिङ रोजेपछि ताम्बश्रीले ८ विकेटको क्षतिमा १ सय १ रन बनाएको थियो । 

जवाफी ब्याटिङ गरेको हीरा वारियर्स १३ दशमलव ३ ओभरमा ८४ रनमै अलआउट हुन पुग्यो । ‘म्यान अफ द म्याच’ ताम्बश्रीका निकी चौहान घोषित भए । उनले ३ विकेट लिएका थिए । 

यसअघि प्रतियोगिताको उद्घाटन मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जैसवालले गरेका थिए । उनले व्याटिङ गर्दा उद्योग वाणिज्य संघ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले बलिङ, नेपाली कांग्रेसका नेता कन्चन झाले अम्पायरिङ र स्थानीय युवा समाजसेवी दामोदरप्रसाद यादवले विकेट किपरको भूमिका निर्वाह गरेका थिए ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully