प्लेअफमै ललितपुर र धनगढीको युद्ध

जब यी दुई टिम दशरथ रंगशालामा उत्रन्छन्, माहोल दमदार बन्छ, दुवैका समर्थक उतार्न सक्ने टिम हुन्

वैशाख ६, २०८२

हिमेश

Battle of Lalitpur and Dhangadhi in the playoffs

काठमाडौँ — भन्ने गरिन्छ, फुटबलका प्रतियोगिता कहिलेकाहीं आफैं कथाकार हुने गर्छ । तिनले मीठो कथा रच्ने गर्छ । नेपाल सुपर लिग (एनएसएल) यदि आफैंमा कथाकार हो भने उसले रचेको एउटा सुन्दर कथा हो, पहिलो क्वालिफायरमा ललितपुर सिटी एफसीविरुद्ध धनगढी एफसीको भेट । के यो फाइनलअघिको फाइनल हो त ?

यसका लागि केही दिन कुनुपर्छ । तर एउटा तथ्य निश्चित छ, यसपल्ट प्रतियोगिताले पस्कन सक्ने सबैभन्दा ठूलो खेल भनेकै यही हो ।

त्यसैले मज्जाले भन्न सकिन्छ, यो ‘ब्लकबस्टर’ खेल हुनेछ । त्यसो त एनएसएलले भर्खर तेस्रो सिजन छोएको छ, यसबीच तीन टिम आफैंमा ठूलो भएर अगाडि आएका छन् । त्यसमध्ये दुई त ललितपुर र धनगढी नै भए । अर्को काठमाडौं रेजर्स । यसपल्ट प्लेअफमै पुग्न नसकेपछि यो अब ठूलो टिम रहेन । यस्तोमा एनएसएलमा ठूला दुई टिम भन्नु नै ललितपुर र धनगढी रहे । यस्तोमा यी दुईलाई मज्जाले यस्तो भन्न सकिन्छ, ‘बिग टु’ ।

फेरि जब यी दुई टिम दशरथ रंगशालामा उत्रन्छन्, माहोल दमदार बन्छ । यिनै दुई टिम हुन् सक्दो प्रशंसक र समर्थक उतार्न सक्ने । यिनको भिडन्त शनिबार काठमाडौंमा हुँदै छ । नेपाली घरेलु फुटबललाई माया लाग्छ भने यो सबैले पक्कै हेर्नुपर्ने खेल हुनेछ ।

ललितपुरका प्रशिक्षक हुन्, साइमन ग्रेसन । खेलाडी छँदा उनले लिड्स युनाइटेड, लेस्टर सिटी, एस्टन भिल्लादेखि ब्लाकबर्नसम्म खेले । प्रशिक्षकका रूपमा ब्ल्याकपुल, लिड्स, सन्डरल्यान्ड र ब्राएडफोर्ड सिटीदेखि बेंगलुरु एफसीसम्म सम्हालिसकेका छन् । उनी भन्छन्, ‘धनगढी असाध्यै बलियो टिम हो ।’

धनगढीका प्रशिक्षक हुन्, हुँवा म्यानुएल मार्टिनेज । उनको खेलाडी जीवनबारे धेरै तथ्य छैन । प्रशिक्षकका रूपमा उनीसँग पनि एसिया, अमेरिका र अफ्रिकामा खेलाएको अनुभव छ । मिडियासामु प्रस्तुत हुँदा प्रत्येकपल्ट ‘ह्वाउ’ भन्ने बानी छ उनको । उनी भन्छन्, ‘ललितपुर असाध्यै राम्रो टिम हो ।’ सार के भन्दा दुवै प्रशिक्षक आ–आफ्नो प्रतिद्वन्द्वीको प्रशंसा गर्न कन्ज्युस्याइँ पनि गर्दैनन् ।

अपराजित ललितपुर सिटी

लिग चरणमा ललितपुर अपराजित रह्यो । ६ खेलमा तीन विजयी रह्यो, तीनमा बराबरी । यसरी १२ अंक बटुलेर ललितपुर शीर्षस्थानमा रह्यो । एनएसएलको तीन सिजनको इतिहासमा ललितपुर अहिलेसम्मकै उत्कृष्ट लयमा छ । ललितपुर पछिल्ला ९ खेलमा अपराजित छ र यो कीर्तिमान हो । यसमध्ये तीन खेल त गत सिजनको हो, त्यसमा दुई प्लेअफ हो भने एक फाइनल । यी तीन खेल लगातार जितेर त हो, ललितपुर दोस्रो सिजन च्याम्पियन बनेको ।

यही लयलाई ललितपुरले यसपल्ट कायम राखेको छ भन्दा हुन्छ । यो अर्थमा सम्भवतः धनगढीले एक प्रकारले ‘मोमेन्टम’ गुमाएको छ । भयो के भन्दा चितवनविरुद्धको अन्तिम खेलमा टोलीलाई जित र हार दुवैको खासै अर्थ थिएन । त्यसैले टिमले दोस्रो रोजाइका खेलाडी उतारेको थियो । यहींनिर टिमले माथ खाएको छ भन्दा हुन्छ । तर यो ‘आँधीहुरी आउनु अघिको सन्नाटा’ जस्तै पनि हुनसक्छ । धनगढीले जानेर बुझेर नै यस्तो रणनीति बनाएको पनि हुनसक्छ ।

धनगढीलाई लागेको हुनसक्छ, मुख्य खेलअगाडि आफ्ना प्रमुख खेलाडीलाई आराम दिएकै राम्रो । धनगढी ११ अंकसहित दोस्रोमा रह्यो । चितवनविरुद्ध यो प्रतियोगिताकै सबैभन्दा ठूला स्टार अहमद हिजाजीले खेलेनन् । उनी खेल हुँदा दर्शकदीर्घातिर थिए । पहिलो क्वालिफायरमा सबैको नजर हुने एकमात्र खेलाडी यिनै हुन् । यो सिजन उनले ६ गोल गरिसके । गत सिजन ४ गोल गरेका थिए । यस्तोमा उनी यो प्रतियोगितामै सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन्, साँच्चै उनी छिटो र छरितो छन् ।

एकाएक मौका सिर्जना गर्न माहिर छन्, कसैले केही छनक नपाएकै बेला पनि । अझ नेपालको घरेलु फुटबलमा खेल्न सबैभन्दा राम्रा विदेशी खेलाडीमध्ये एक भन्दा हुन्छ । खेलपछिका अधिकांस ‘पोस्टम्याच कन्फ्रेन्स’ कोही एक खेलाडीका धेरै बढी चर्चा हुने गरेको छ भने त्यो यिनै हिजाजी हुन् । प्रभाव त ब्राजिली खेलाडी सर्जियो बारबोजुले पनि छाडेका छन् ।

नेपाली खेलाडीको नाम लिने हो भने कृतिशरत्न छुन्जुलाई कसरी छुटाउन सकिन्छ र ? उनी अहिले आफ्ना साथीहरूभन्दा एक तह माथि देखिएका छन् । धनगढीलाई शान्त राख्ने हो भने ललितपुरले सबैभन्दा पहिले हिजाजीलाई रोक्न सक्नुपर्छ । अनि बारबोजु र छुन्जुलाई पनि त्यसै छोड्न मिल्ने छैन । ललितपुरको टिममा एउटै यस्तो नाम लिन सकिन्न, धेरै हदसम्म । तर एउटा टिमको रूपमा ललितपुर उत्कृष्ट छ । टोलीका लागि नेपालकै नाम चलेका खेलाडी महत्त्वपूर्ण साबित भइरहेका छन्, जस्तो कप्तान अनन्त तामाङ, योगेश गुरुङ, सनिश श्रेष्ठ र मणिकुमार लामा ।

प्लेअफमा नहार्ने धनगढी

धनगढीको एउटा बलियो पक्ष के हो भने यो टिमले लगातार तेस्रोपल्ट क्वालिफायर–वान खेल्दै छ । यसअघिका दुवै पहिलो क्वालिफायनरमा यही टिम विजयी थियो । यस्तोमा यो टिम प्लेअफमा हार्ने गर्दैन । इतिहासले यस्तै भन्छ । पहिलो सिजन टोलीले काठमाडौंलाई हराएको थियो भने दोस्रो सिजन पोखरालाई । संयोगले प्लेअफमा ललितपुर र धनगढीबीच भेट भएको छैन । लतिलपुरले भने प्लेअफमा चारपल्ट खेलेको छ, त्यसमध्ये तीन खेलमा विजयी छ ।

पहिलो सिजन ललितपुरले इलिमिनेटरमा बुटवल–लुम्बिनीलाई त हरायो, तर दोस्रो क्वालिफायरमा काठमाडौंसँग पराजित रह्यो । तर दोस्रो सिजनका दुवै प्लेअफमा ललितपुर विजयी छ । त्यसमध्ये इलिमिनेटरमा काठमाडौंलाई हराएपछि ललितपुरले दोस्रो क्वालिफायरमा पोखरालाई पन्छाएको थियो । लिग चरणको कुरा गर्ने हो भने यी दुई टिम एक आपसमा तीनपल्ट भिडेका छन्, सबै बराबरीमा सकिएका छन् । सबैभन्दा महत्त्वपूर्ण तथ्य पछिल्लो फाइनलमा ललितपुरले हराएको भनेकै धनगढी एफसीलाई हो ।

हिमेश

Link copied successfully