एमपीएल : बलान बिहुल सुपर किंग्स र मिथिला वारियर्स विजयी

वैशाख ५, २०८२

कान्तिपुर संवाददाता

MPL: Balan Bihul Super Kings and Mithila Warriors win

राजविराज — सप्तरीमा भइरहेको तेस्रो मधेश प्रिमियर लिग (एमपीएल) अन्तर्गत शुक्रबार भएको खेलमा बलान बिहुल सुपर किंग्स र मिथिला वारियर्स विजयी भएका छन् । पहिलो खेलमा बलान बिहुल सुपर किंग्सले कोशी दुहबी क्यापिटललाई ८१ रनले पराजित गरेको छ भने दोस्रो खेलमा मिथिला वारियर्सले जनकपुर सनराइजर्सलाई ५ विकेटले पराजित गरेको हो । 

टस जितेर ब्याटिङ गर्दै बलानले निर्धारित १२ ओभरमा ८ विकेट गुमाउँदै १ सय ४१ रन बनाए । बलानका लागि इमरान शेखले सर्वाधिक ४१, राशिद खानले ३०, अरनिको यादवले २० र विकास दासले १३ रन जोडे । बलिङतर्फ कोशीका भीम यादवले ३, अनुज चौहानले २ विकेट तथा मोहम्मद सोहिल, साजन दास र नवीन यादवले १/१ विकेट लिए । 

१ सय ४२ रनको लक्ष्य बोकेर मैदानमा आएको कोशीले १२ ओभरमा ९ विकेट गुमाउँदै ६० रनमै समेटिए । कोशीका लागि नवीनकुमार यादवले ३३ रन जोडे भने अन्य कुनै खेलाडीले दोहोरो अंक बनाउन सकेन । बलिङतर्फ बलानका विवेक यादव, राशिद खान र भुवन कार्की २/२ तथा विकास दासले १ विकेट लिएका थिए । सो खेलमा प्लेयर अफ द म्याच बलानका राशिद खान घोषित भए । 

त्यस्तै, दोस्रो चरणको खेलमा टस हारेर ब्याटिङ गर्ने मौका पाएको जनकपुरले निर्धारित २० ओभरको खेलमा १८ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय २२ रन बनाए । जनकपुरका लागि मयन यादव ३६, राष्ट्रिय खेलाडीहरू आशिफ शेखले १८ र आरिफ शेख ११ रन तथा विशाल पटेलले २२ रन जोडे । 

बलिङतर्फ मिथिला वारिर्यसका शेर मल्लले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १५ रन खर्चेर ४, राष्टिय खेलाडी कुशल भुर्तेलले २, दीपेन्द्रसिंह ऐरी र बसिर अहमदले १/१ विकेट लिए । जवाफमा १ सय २३ रनको लक्ष्य लिएर मैदानमा आएको मिथिला वारियर्सले १४ ओभर ३ बलमा ५ विकेट गुमाउँदै प्राप्त गरे । 

मिथिला वारियर्सका लागि कुशल भुर्तेलले ७ चौका र ३ छक्काको मद्दतले ५६ रन जोडे भने दीपेन्द्रसिंह ऐरीले २३, बसिर अहमदले १२ र सुमित महर्जनले ७ रनको योग्दान दिए । बलिङतर्फ जनकपुरका विशाल पटेल २ तथा विशाल सुश्लिंग, फदेह सिद्दीकी र प्रदीप पासवानले १/१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच मिथिला वारिर्यसका भुर्तेल नै घोषित भए ।

कान्तिपुर संवाददाता

Link copied successfully