एनएसएलमा पुनरागमन गर्दै पोखरा थन्डर्स अगाडि बढ्दा झापा एफसी बाहिरियो
काठमाडौँ — पोखरा थन्डर्सलाई जित्नैपर्ने खेल थियो । जित्यो पनि । यससँगै मंगलबार पोखरा नेपाल सुपर लिग (एनएसएल) को इलिमिनेटरमा पुगेको छ । टोलीको ८ अंक भएको छ । पोखराको अब शीर्ष चारमा रहने निश्चित भयो । प्रश्न के मात्रै बाँकी रह्यो भने यो चरणमा पोखराको प्रतिद्वन्द्वी को हुनेछ ? काठमाडौं रेजर्स कि एफसी चितवन ?
एउटा अर्को प्रश्नको जवाफ भने प्राप्त भएको छ । यो हो, झापा एफसी आफ्नो अन्तिम खेलअघि नै प्रतियोगिताबाट बाहिरिएको छ ।
झापाको ४ अंकमा रहेको छ । अबको खेल जिते पनि झापालाई पुग्ने छैन । बुटवल–लुम्बिनी एफसीको सम्भावना त यसअघि नै सकिइसकेको छ । क्वालिफायर–१ मा सबैभन्दा पहिले डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र धनगढी एफसी भिड्नेछन् । यसमध्ये कुन टिम शीर्षमा रहने हो त्यसको उत्तर बाँकी नै छ । यस्तोमा ती दुई प्रश्नको उत्तर मिल्नेछ, लिग चरणका बाँकी दुई खेलबाट । त्यसमा सबैभन्दा पहिले ललितपुर र झापा भिड्नेछन् । त्यसपछि धनगढी र चितवनबीच खेल हुनेछ । यो खेलमा काठमाडौंको सिधा–सिधा नजर रहनेछ ।
पोखराको सुरुआती यात्रा आफैंमा संघर्षपूर्ण रह्यो, किनभने दुई खेल गुमाएपछि यो टिम असाध्यै दबाबमा थियो । त्यसपछिका ४ खेलमा पोखराले ८ अंक बटुलेको हो । त्यस अर्थमा पोखरा गतिलो पुनरागमन रच्न सफल रह्यो । प्रशिक्षक सुमन श्रेष्ठले आफ्नो टिम प्ले–अफ पुग्ने दाबी गरिरहेका थिए । उनले त्यो वचन भने पूरा गरेका छन् ।
हेडबाट दुई गोल
पोखरा प्रतियोगिताको प्लेअफ पुगेको यो दोस्रोपल्ट हो । पछिल्लो सिजन त पोखरा लिग चरण समाप्तिमा पहिलो स्थानमा थियो, टोलीले यसपल्ट त्यस्तै प्रदर्शन भने दोहोर्याउन सकेन । तर, यसअघिका दुवै प्लेअफ खेल गुमाएको पोखरासामु अबको इलिमिनेटरमा गम्भीर चुनौती पेस गर्ने अवसर हुनेछ । लिग चरणको अन्तिम खेलमा गोल गर्ने खेलाडी रहे आयुष घलान र विलियम बिआसी । संयोगले दुवै गोल हेडबाट सम्भव भयो । खेलको १० औं मिनेटमा आयुषले समीर तामाङको पासलाई पोस्टको दिशा दिएका थिए । खेलले ५९ औं मिनेट छुँदा बिआसीले कप्तान नवयुग श्रेष्ठको कर्नर बललाई गोलमा परिणत गरेका हुन् । पोस्टम्याच कन्फ्रेन्समा आयुष अत्यधिक उत्साहित रहे । उनका दाबी थियो, ‘अब उपाधि नै हाम्रो लक्ष्य हुनेछ । सबै एकजुट भएर खेल्यौं भने त्यो सम्भव पनि छ । सुरुमा अलिकति गाह्रो भएको थियो । नकारात्मक कुरा बढी थिए तर पछि त्यसलाई प्रशिक्षकले मिलाए ।’
प्रशिक्षक श्रेष्ठले पनि माने, दुई खेलको समाप्तिपछि मात्र आफ्नो टिमले गति लिएको हो । उनले भने, ‘प्लेअफ पुगेकामा खुसी छौं । हाम्रो लक्ष्य प्लेअफ पुग्ने नै थियो । आज गर या मरको खेल थियो । सबै सँगै बसेर छलफल गरी खेल योजना बनाएका थियौं ।’ उनले के पनि माने भने आफ्नो टिमले सुरुमा जसरी तयारी गर्नुपर्ने थियो, त्यो भने भएको थिएन । अब केही दिनको आरामपछि पोखरासामु प्लेअफका लागि तयारी गर्ने अवसर हुनेछ ।
कमजोर बुटवल–लुम्बिनी
बुटवल–लुम्बिनी ६ खेलमा एकै अंकमा सीमित रह्यो । टोलीको प्रदर्शन सर्वथा कमजोर रह्यो । पहिलो खेल बराबरी खेलेको बुटवल–लुम्बिनीले त्यस पछाडिका ५ खेल गुमाएको हो । तीन सिजनको छोटो इतिहासमा कुनै टिमको यो नै अहिलेससम्मको सबैभन्दा खराब प्रदर्शन हो । कुनै टिम लगातार ५ खेलमा हारेको यो नै पहिलो पटक हो । त्यति मात्र होइन, प्रतियोगिताकै इतिहासमा चितवनपछि बुटवल–लुम्बिनी लिग चरणमा एकै खेल नजित्ने टिम बन्यो ।
चितवनले पहिलो सिजन कुनै खेल जितेको थिएन । बुटवल–लुम्बिनीले यसपल्ट एकमात्र गोल गर्न सक्यो । त्यस अर्थमा यो सर्वथा बिर्सनलायक प्रदर्शन थियो । यति खराब प्रदर्शन किन त ?
कप्तान एरिक विष्टले भन्छन्, ‘विदेशी खेलाडी अनुबन्धमा चुक्यौं जस्तो लाग्छ ।’
टोलीका भुटानी प्रशिक्षक पुष्पलाल शर्माले भने, ‘हामी कहाँ चुक्यौं ? यो गाह्रो प्रश्न हो । हाम्रा विदेशी खेलाडीले अपेक्षाअनुसार खेल्न सकेनन् । मैले आफैं भने नेपाली फुटबललाई नजिकबाट बुझ्ने अवसर पाएँ ।’
