राजविराज — शंकर रानाको ६५ रन मदतप्रेरित छिन्नमस्ता रुपनी मधेश राइडर्सले मंगलबार मधेश प्रिमियर लिग क्रिकेटको तेस्रो संस्करणको उद्घाटन खेलमा कोसी दुहबी क्यापिटललाई ५६ रनले पराजित गरेको छ ।
राजविराजस्थित पवि माविको मैदानमा टस जितेर कोसी दुहबीले छिन्नमस्तालाई ब्याटिङ गर्न आमन्त्रण गरेको थियो । १८ ओभरमा छोट्याइएको खेलमा पूरा ओभर खेल्दै ६ बिकेट गुमाएर छिन्नमस्ताले १ सय ५४ रन बनायो । शंकरबाहे सन्तोष कार्कीले ३१ र रोहन बिकले २२ रनको योगदान गरे । कोशी दुहबीका कृष्ण कार्की र आकाश त्रिपाठीले ३–३ विकेट लिएका थिए ।
जवाफमा कोशीले १३.४ ओभरमा सबै बिकेट गुमाई ९८ रनमात्र बनायो । इशान पाण्डेले ३७, सोनु अन्सारी २९ र दीपेश कँडेलले १६ रन बनाए । छिन्नमस्ताका नारायण जोशी, दिनेश अधिकारीले ३–३ विकेट, अभिषेक कार्कीले २ र दिवान पुन १ विकेट लिए । प्लेयर अफ द म्याच शंकर राना भए ।
प्रतियोगिताको मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ब्याटिङ र मधेश प्रिमियर लिगका अध्यक्ष सन्जिव नारायण यादवले बलिङ गरेर उदघाटन गरे । बुधबारसप्तरी बलान बिहुल सुपर किङ र छिन्नमस्ता तथा दोस्रो खेल कोशी दुहबी र काठमाडौं रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।
कुल ६ टिमको सहभागिता रहेको प्रतियोगितामा नेपालका राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी प्रतिस्पर्धी छन् ।
दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, गुलसन झा, ललित राजवंशी, वसिर अहमद, रशिद खान विवेक यादव, नन्दन यादव ,अर्जुन साउद र अमित श्रेष्ठ लगायतका खेलाडी विभिन्न टिमवाट मैदानमा उत्रनेछन् ।
विजेताले ९ लाख १ हजार, उपविजेताले ४ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
म्यान अफ द सिरिजलाई १ लाख ५१ हजार पुरस्कार व्यवस्था गरिएको अध्यक्ष यादवले बताए । प्रतियोगितामा करिब १ करोड १७ लाख ५ सय रुपैयाँ खर्च हुनेछ । फाइनल वैशाख ११ मा हुनेछ ।
