मधेश प्रिमियर लिगको तेस्रो संस्करण सुरु

कोशी दुहबी क्यापिटललाई ५६ रनले पराजित गर्दे छिन्नमस्ता रुपनी मधेश राइडर्स विजयी

वैशाख २, २०८२

अवधेशकुमार झा

The third edition of the Madhesh Premier League has started

राजविराज — कोसी दुहबी क्यापिटललाई ५६ रनले पराजित गर्दे छिन्नमस्ता रुपनी मधेश राइडर्स 'मधेश प्रिमियर लिग क्रिकेट प्रतियोगिता तेस्रो संस्करण'को उद्घाटन खेलमा विजयी भएको छ । शंकर राणाको ६५ रनको मद्दतमा छिन्नमस्ताले जित हात पारेको हो । 

समयका कारण १८ ओभरमा छोट्याइएको खेलमा निर्धारित ओभरमा ६ विकेट गुमाउँदै छिन्नमस्ताले १ सय ५४ रनको स्कोर खडा गरेको थियो । छिन्नमस्ता रुपनीको १ सय ५४ रनको योगफलमा शंकर राणाले सर्वाधिक ६५ का अतिरिक्त सन्तोष कार्कीले ३१ र रोहन विकले २२ रनको योगदान गरे । बलिङतर्फ कोशी दुहबीका कृष्ण कार्की र आकाश त्रिपाठीले ३/३ विकेट लिएका थिए ।

कोशी दुहबीले १३ ओभर ४ बलमा सबै विकेट गुमाई ९८ रन मात्र बनायो । कोसी दुहबीका लागि इशान पाण्डेले ३७, सोनु अन्सारी २९ र दीपेश कँडेलले १६ रन बनाए । बलिङतर्फ छिन्मस्ताका नारायण जोशी, दिनेश अधिकारीले ३/३ विकेट, अभिषेक कार्कीले २ विकेट, दिवान पुनले १ विकेट लिए । प्लेअर अफ द म्याच शंकर राणा घोषित भए । 

प्रतियोगिताको मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ब्याटिंग र मधेश प्रिमियर लिगका अध्यक्ष इन्जिनियर सञ्जीवनारायण यादवले बलिङ गर्दै उद्घाटन गरे । बुधबार पहिलो खेल सप्तरी बलान बिहुल सुपर किङ र छिन्मस्ता रूपनी मधेश राइडर्स तथा दोस्रो खेल कोशी दुहबी र काठमाडौं रोयल्सबीच हुने आयोजकले जनाएको छ ।

कुल ६ टिमको सहभागिता रहेको प्रतियोगितामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी सहभागी हुनेछन् । दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आशिफ शेख, गुलसन झा, ललित राजवंशी, वसिर अहमद, रसिद खान, विवेक यादव, नन्दन यादव, अर्जुन साउद र अमित श्रेष्ठ लगायतका खेलाडी मैदानमा ओर्लनेछन् । प्रतियोगितामा कुल १८ वटा खेल हुनेछ । 

प्रथम टिमलाई नगद ९ लाख १ हजार, दोस्रोलाई ४ लाख १ हजार र म्यान अफ द सिरिजलाई १ लाख ५१ हजार पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष यादवले बताए । प्रतियोगितामा कुल एक करोड १७ लाख ५ सय रुपैयाँ खर्च हुने अनुमान छ । प्रतियोगिताको फाइनल खेल वैशाख ११ मा हुनेछ ।

अवधेशकुमार

Link copied successfully