काठमाडौँ — युवराज खत्रीको ५ विकेट प्रदर्शनमा नेपाली यू–१९ टिमले एसीसी यू–१९ विश्वकप एसिया छनोटमा सोमबार ओमान यू–१९ लाई ८ विकेटले पराजित गरेको छ । नेपालको लगातार दोस्रो जित हो । नेपालले शनिबार यूएईलाई ५ रनलेहराएको थियो ।
लेग स्पिनर युवराजले ७ ओभरमा १५ रन खर्चेर ५ विकेट लिए । सातौं बलरको रूपमा आएका उनले ३० औं ओभरमा जितब्रजेश साहलाई आउट गरी विकेट लिन सुरु गरे । युवराजले पछिल्लो ५ विकट नै लिएपछि ओमान लगातार दोस्रो हार बेहोर्न बाध्य भयो ।
सन्तोष यादवले ८ ओभरमा १ मेडन राख्दै १४ रन खर्चेर २ तथा अशोक धामी, अपराजित पौडेल र दयानन्द मण्डलले १–१ विकेट लिए । दर्श सोनारको स्थानमा नेपालले दयानन्दलाई खेलाएको थियो । ओमानबाट जितब्रजेशले सर्वाधिक ५२ रन बनाए । उनले ७८ बलमा ६ चौका प्रहार गरे । प्रतिश हेमा रमेश १० र सिद्धार्थ सौम्य शंकर १६ रनमा आउट भए । कभिस राजेशकुमार शाह ९ रनमा अविजित रहे ।
साहिल पटेल र नीरज यादवले सानदार ब्याटिङ गरेपछि नेपालले १४.३ ओभरमै लक्ष्य पूरा गर्यो । यी दुईले १० ओभरमै ८५ रन जोडे । नीरजले ३१ बलमा ५ चौका र २ छक्कासहित ४६ रन बनाए । साहिलले ४४ रन बनाए । नेपालको जितलाई ११ रन बाँकीमा आउट भएका साहिलले ४२ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । कप्तान नरेन भट्ट १२ र सन्तोष यादव १० रनमा अविजित रहे । दुवैले २–२ चौका प्रहार गरे ।
