गोर्खाली रग्बी फेरि च्याम्पियन

वैशाख २, २०८२

कान्तिपुर संवाददाता

Gorkhali Rugby champions again

काठमाडौँ — गोर्खाली रग्बी क्लब पाँचौं संस्करणको फिप्टिन्स रग्बी च्याम्पियनसिपको ट्रफी जितेको छ । मंगलबार लिगको अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ५५–० अंकले पराजित गर्दै गोर्खाली रग्बीले उपाधि रक्षा गरेको हो । गोर्खालीले लिगका तीनै खेल जित्दै तालिकाको शीर्षस्थानमा स्थान बनाएको थियो

मंगलबारै अर्को खेलमा त्रिभुवन आर्मी क्लबले एपीएफ क्लबलाई संघर्षपूर्ण खेलमा १९–७ अंकले पराजित हराएको छ । गत वर्ष उपविजेता एपीएफ भने तेस्रो स्थान रह्यो । पुलिस क्लब अंकबिहीन रह्यो ।

विजेता टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, राखेप कार्यकारी सदस्य कमलबहादुर भट्टराई, नेपाल रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरी र महासचिव गोविन्द घिमिरेले पुरस्कार प्रदान गरे ।

विजेताले २ लाख २२ हजार २ सय २२ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाए । सर्वोकृष्ट खेलाडी गोर्खाली रग्बी क्लबका विजय खड्का घोषित भए । उनले १५ हजार पाए ।

प्रतियोगिताका कठिन मानिएका दुई खेलमा एपीएफ र आर्मीलाई पराजित गरिसकेको गोर्खाली रग्बीका लागि मंगलबारको खेल तुलनात्मक रूपमा सहज र एकपक्षीय बनेको थियो ।

नेपाल रग्बी संघको आयोजनामा राउन्ड रोबिन लिगको आधारमा भएको खेलमा तीन विभागिय र गोर्खाली रग्बी गरी चार टोलीको सहभागिता थियो । दुई महिनापछि नेपाल र बंगलादेशबीच काठमाडौंमा हुने फिप्टिन्स रग्बी शृंखलालाई यसै स्पर्धाबाट खेलाडी छनोट गरिने संघले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully