५ वर्षीया हजरा खातुन भन्छिन् : टीभीमा आउने दिदीहरूसँग खेल्न मन छ
जनकपुर — महोत्तरी लोहरपट्टी घर भई हाल जनकपुरधाम बसोबास गरिरहेकी हजरा खातुन पाँच वर्षकी भइन् । तर, उनलाई बिहानको ५ नबज्दै मैदानमा जान चटारो हुन्छ । क्रिकेट ‘किट’ बोक्दै उनी बुवा फारुक नदाफलाई उठाउँछिन् । उनलाई जनकपुरधाम उपमहानगरपालिका-९ रजौलस्थित निर्माणाधीन रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशाला पुर्याउने दैनिकी नै हो फारुकको ।
‘एक वर्ष पहिलेदेखि ठूलो ग्राउन्डमा गएर क्रिकेट सिक्छु भन्दै जिद्दी गर्थिन्,’ फारुक भन्छन्,‘यहाँ सिक्न थालेको चार महिना भयो ।’
सुरुमा मामा पर्ने कृष रानाले हजरालाई नजिकै रहेको मैदानमा घुमाउन लग्थे । त्यहीँबाट हो उनलाई क्रिकेटप्रति रुचि जागेको । २२ वर्ष साउदीमा बिताएका फारुकका तीन छोरी छन् । कान्छी छोरी हजरालाई राष्ट्रिय टिमको सदस्य बनाउने उनको सपना छ । हजराको पनि सपना ठूला दिदीहरूसँग खेल्ने नै छ । उनी भन्छिन्, 'टीभीमा आउने दिदीहरूसँग खेल्न मन छ ।'
अहिले हजरा नियमित प्रशिक्षणमा आइरहेको सहायक प्रशिक्षक अन्सारुल राइनले बताए । त्यहाँ उनी एक घण्टा शारीरिक अभ्यास र एक घण्टा खेलको प्राविधिक ज्ञान सिक्ने गर्छिन् । मुस्लिम छात्रा मदरसा शिक्षा आर्जन गर्ने र बुर्कामा बस्ने आम बुझाइ छन् । तर, त्यस्तो सोचलाई परिर्वतन गर्दै फारुक तीनै छोरीलाई राजगारीमूलक शिक्षा दिइरहेका छन् । उनको जेठी छोरी फरिदा खातुन जनकपुरधामको निजी विद्यालयमा कक्षा ६ मा पढ्दै छिन् भने माइली छोरी सीमा खातुन सोही विद्यालयमा कक्षा २ मा पढ्दै छिन् ।
मिथिला विहारी नगरपालिका-२ पुरनदाहाका श्यामसुन्दर शर्माकी ६ वर्षीया छोरी रिषिकाको कथा अलि फरक छ । रिषिकाको लगावका अधारमा एकेडमी भर्ना गरिदिएको श्याम बताउँछन् । मोबाइलको लतबाट जोगाउन खेल आवश्यक रहेको श्यामको बुझाइ छ ।
महोत्तरी गाउँपालिका-२ अनैठा घर भई जनकपुर बसोबास गरिरहेका सरद यादवका दुई सन्तान छन् । उनका ९ वर्षीया छोरी सानबी यादव र ७ वर्षका छोरा सगुन पनि नियमित क्रिकेट प्रशिक्षण लिइरहेका छन् । राष्ट्रिय टिमको प्रतिनिधित्व गर्दै खेल्ने उनीहरूको पनि सपना छ । सरद पनि क्रिकेटका खेलाडी थिए ।
तर, उनले स्रोतसाधन अभावको कारण खेल्ने सपना पूरा गर्न सकेनन् । ‘म आफैं पनि खेलाडी थिए । त्यतिबेला धेरै जिम्मेवारी भएर, स्रोतसाधनको अभाव भएर खेल्न सकिनँ,’सरद भन्छन्,‘अब मेरो सपना मेरा छोराछोरीले पूरा गर्नेछन् भन्ने विश्वास छ ।’ हजरा, रिषिका र सानवी मधेश प्रदेशमा क्रिकेट प्रशिक्षण लिइरहेका प्रतिनिधिमूलक पात्र हुन् । उनीहरूजस्तै कैयौं बालिका क्रिकेटलाई भविष्य बनाउन लागिपरेका छन् ।
२१ वर्षपछि पुनः बन्यो महिला टिम
जनकपुर चुरोट कारखाना सञ्चालन हुँदा जनकपुर खेलक्षेत्रमा निकै अगाडि थियो । हरेक विधाका खेलमा अब्बल पनि थियो । प्राय: सबै खेलमा पुरुष र महिला टिम थिए । तर, जनकपुर चुरोट कारखाना बन्द भएपछि विस्तारै खेलाडी पनि पलायन हुन थाले । ‘जनकपुर चुरोट कारखाना सञ्चालनमा हुँदा सबै विधाका खेलमा टिम बनाइएको थियो,’पूर्वखेलाडीसमेत रहेका धनुषा महिला क्रिकेट टिमका प्रशिक्षक सचिन कुमार सिंह बताउँछन्,‘सबै खेलाडीलाई मासिक तलबसँगै भत्ता पनि दिन्थ्यो ।’ चुरोट कारखाना बन्द भएपछि खेल जगतमा निकै असर पुगेको उनले सुनाए ।
नेपालमै सबैभन्दा पहिला धनुषामा महिला क्रिकेट टिम गठन भए पनि चुरोट कारखाना बन्द भएपछि खेलाडी टिकाउन र उत्पादन गर्न नसकेको उनको अनुभव छ । २०६० सालपछि हरेक विधाका खेलाडी आम्दानी नदेखेर अन्य पेसामा लागेको उनको भनाइ छ । त्यसपछि यस वर्ष प्रधानमन्त्री कपको लागि धनुषाले महिला टिम बनाएको उनले जानकारी दिए । अब यस टिमलाई प्रशिक्षण दिँदै राम्रो बनाउने सिंहको योजना छ ।
पहिलो पटक खेलाडीसँग सम्झौता
मधेश प्रदेश क्रिकेट संघले पहिलो पटक खेलाडीसँग सम्झौता गरेको छ । संघले मधेश प्रदेश महिला क्रिकेट टिमका दुई र पुरुष टिमका आठ जना खेलाडीलाई वार्षिक एक लाख २० हजार रुपैयाँ दिने गरी सम्झौता गरेको हो । महिला टिमबाट खेलिरहेकी रोजी कडारी र अलिसा यादव अनुबन्ध भएकी छन् । मधेश प्रदेश क्रिकेट संघले दुवै जनालाई मासिक दस हजार रुपैयाँ दिने छन् । उक्त रकम खेलाडीहरूले खेल प्रशिक्षण र खेल सामग्री खरिदमा खर्च गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
पछिल्लो समय मधेशमा छात्रा क्रिकेट सिक्न इच्छुक देखिए पनि निरन्तरतामा समस्या देखिएको जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डेले जिकिर गरे । सक्षम देशको नागरिक नभएर निरन्तरतामा समस्या देखिएको उनको भनाइ छ । ‘हामी कोही पनि सक्षम छैनौं,’उनले विश्लेषण गर्दै भने,‘त्यस कारण भविष्य रोज्ने कि क्रिकेट ? सबैको जीवनमा यो मोड आउँछन् ।’ राज्यभन्दा अगाडि अभिभावकले लगानी गरे मधेशमा छोरीको खेलकुदमा प्रतिनिधित्व बढ्ने उनको तर्क छ ।
