काठमाडौँ — सिक्किममा हुने उसु प्रो नाइट्स फाइटमा भाग लिन मार्सल आर्ट्स अर्गनाइजेसन नेपालका ५ खेलाडीले भाग सहभागिता जनाउने भएको छ ।
सिक्किम एमेच्योर उसु संघको आयोजनामा हुने उसु प्रोका लागि ८ सदस्यीय नेपाली टोली मंगलबार सिक्किमस्थित गान्तोक जानेछ । प्रतियोगितामा विभिन्न ५ तौल समूहमा नेपाल र सिक्किमका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
अप्रिल १६ तारिखमा हुने प्रतियोगितामा मिलन राईले ५२ केजी, निश्चल तामाङले ५६ केजी, कमल आचार्यले ६० केजी, मिलन तामाङले ६५ केजी र विनोद श्रेष्ठले ७० केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा राजीव महर्जन, टिम व्यवस्थापकमा किरणसिंह साउद र निर्णायकमा शंकर भुजेल छन् । हरेक स्पर्धामा विजेताले ५० हजार र उपविजेताले २० हजार भारतीय रुपैयाँ पुरस्कार पाउने छन् ।
टोलीलाई कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले सोमबार बिदाइ गरे । उनले खेलाडीहरूलाई पदक जितेर आउन शुभकामना दिँदै उसुको विकास र विस्तारका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । मेयर डंगोलले टोलीलाई व्यक्तिगत रूपमा ट्र्याकसुट प्रदान गरेका थिए ।
