काठमाडौँ — नेपाली बक्सिङ खेलाडीले भुटानको थिम्पूमा भएको फोर नेसन्स कप बक्सिङ च्याम्पियनसिपमा ३ स्वर्ण, ३ रजत र २ कांस्य पदक जितेको छ । चार राष्ट्र सहभागी प्रतियोगितामा नेपाली टिम दोस्रो भयो ।
भुटान टिम च्याम्पियन भएको थियो । यिनै चार टिमको संयुक्त प्रशिक्षण सिविर भएको नेपाल बक्सिङ महासंघका उपाध्यक्ष श्यामकाजी अवालेले जनाए । प्रशिक्षण अप्रिल ८–१० तथा प्रतियोगिता अप्रिल ११–१३ सम्म भएको थियो ।
नेपालका ७ खेलाडी फाइनल पुगेकामा चारले स्वर्ण जिते । महिला ५० केजी तौल समूहमा नेपालकी आरती बम्जनले भुटानकी जामो जिग्दाललाई ५–० अंकमा पराजित गरी स्वर्ण दिलाइन् । महिला ५२ केजीमा नेपालकी अस्मिता दुवालले भुटानकै डेमो नोर्नुलाई ५–० अंकले आधारमा हराएर स्वर्ण जितिन् ।
नेपालकी वर्षा श्रेष्ठले महिला ५४ केजीमा भुटानकै टासीलाई ४–१ ले हराएर अर्को स्वर्ण जितिन् । पुरुष ५१ केजीमा नेपालका लक्ष्मण राईले सिक्किमका कृष्णकैलाश राईलाई ५–० अंकको आधारमा हराएर स्वर्ण जिते ।
पुरुष ४८ केजीमा नेपालका लालप्रसाद उप्रेती भुटानका दोर्जे मगरसँग ४–१ अंकले पराजित हुँदै दोस्रो भए । ५४ केजीमा चन्द्रबहादुर थापा बंगलादेशका महम्मद उन्सोवसँग फाइनलमा ३–२ अंकले पराजित भए । उत्कृष्ट खेल प्रदर्शन गरेका चन्द्रले अन्तिम राउन्डमा रेफ्रीको चेतावनी पाएका थिए । उनी ३:२ ले पराजित भई रजतमा समेटिए । यसअघि चन्द्रले सेमिफाइनलमा भारतीय खेलाडीलाई ५–० ले हराएर फाइनल तय गरेका थिए ।
भुटान बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा नेपालबाट प्रशिक्षकमा मुख्य प्रशिक्षक ओलम्पियन प्रवीण तुलाधर, आईबा थ्रीस्टार कोच दीपक महर्जनका साथमा सहयोगी प्रशिक्षक उमेश कटुवाल र सन्दीप श्रेष्ठ थिए । टेक्निकल अफिसियल पुष्करराज पन्त रहेका थिए । रेफ्री/जजमा धनकुमार मैनाली, सन्तोष आलेमगर, अनुराधा लामा, जीवन कवाः र राजकुमार महर्जनले निर्णायक तथा असिम न्यौपानेले स्कोरिङ अप्रेटरको भूमिका निर्वाह गरे ।
