नेपालले कुवेतसँग फाइनल खेल्ने

चैत्र ३१, २०८१

कान्तिपुर संवाददाता

Nepal will play the final against Kuwait

काठमाडौँ — हङकङसँगको खेल वर्षाले प्रभावित पारेपछि नेपाली टिम शनिबार चारदेशीय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको फाइनल पुगेको छ । 

हङकङमा भइरहेको प्रतियोगितामा शनिबार नेपालले टस जितेपछि ब्याटिङमा आएको हङकङले ९ ओभरमा ३ विकेट गुमाई ६८ रन बनाएको समयमा वर्षाले थप खेल हुन नदिएपछि रद्द भएको थियो । 

अंशुमन रथ १२ बल खेल्दै २ चौका र १ छक्कासहित १७ रन बनाई नन्दन यादवको बलमा आउट भए । वर्षाले खेल रोकिनुअघिको ओभरमा ललित राजवंशीले ओपनर जिसन अली र निजाकत खानलाई आउट गरेर नेपाललाई खेलमा फर्काएका थिए । अली २२ बलमा ३ चौका र १ छक्कासहित ३० र निजाकत १६ बलमा १ छक्कासहित १३ रनमा आउट भए । खेल रोकिँदा बाबर हायत र कल्हन चल्लु दुवै १ रन बनाई क्रिजमा थिए । 

पहिलो दुई खेल जितेको नेपाल अपराजित रहेर ५ अंकसहित शीर्षस्थानमा थियो । दुई खेल जितेको कुवेतको ४, हङकङको ३ अंक रहयो । कतार सबै ३ खेलमा पराजित रह्यो । कुवेतले शनिबार अर्को खेलमा कतारलाई ६ विकेटले पराजित गरी नेपालसँग आइतबार हुने फाइनल भेट निश्चित गरेको थियो । कतारले बनाएको १ सय २४ रनलाई कुवेतले १० ओभरमा १ सय २७ रन बनाउँदै पूरा गरेको थियो । 

नेपालले राउन्ड रोबिनको पहिलो खेलमा कुवेतलाई ६ विकेट र कतारलाई 

८ विकेटले पराजित गरेको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully