‘जायन्ट्स’ बन्दै ललितपुर

झापा १–१ पोखरा, ललितपुर २–० बुटवल–लुम्बिनी

चैत्र ३१, २०८१

हिमेश

Lalitpur becoming 'Giants'

काठमाडौँ — प्रत्येक प्रतियोगितामा केही टिम ठूला हुन्छन् । बलियो, कम हार्ने अनि लक्ष्यतिर अग्रसर हुने । नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसी त्यस्तै एउटा टिम बन्दैछ । खेलको भाषामा भन्दा ‘जायन्ट्स’ बन्दै । डिफेन्डिङ च्याम्पियन रहेको ललितपुर सिटी शनिबार यसपल्टको प्लेअफ पुग्ने निश्चित भएको पहिलो टिम बनेको छ । यस्तोमा तीनै सिजन प्लेअफ चरण पुग्ने ललितपुर पहिलो टिम बन्यो ।

कीर्तिमान आठ खेलको अपराजित यात्रबाट गुज्रिइरहेको ललितपुरसामु अब एउटै लक्ष्य हुनेछ, शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेल्ने । टोलीको ५ खेलपछि ११ अंक भएको छ । बाँकी खेलको नतिजा जस्तै भए पनि शीर्ष चारमा रहनबाट ललितपुरलाई कसैले रोक्न सक्नै छैन् । अहिलेलाई ललितपुर शीर्षमा पनि उक्लेको छ । ललितपुरको ठ्याक्कै उल्टो स्थितिमा रह्यो, बुटवल–लुम्बिनी एफसी । बुटवल–लुम्बिनी भने ५ खेलबाट एकै अंकमा सीमित र उसको प्लेअफ सम्भावना समाप्त भएको छ । 

लगातार दोस्रो सिजन बुटवल–लुम्बिनी प्लेअफ पुग्न सकेन । यसपल्ट यसको प्रदर्शन सवर्था बिर्सनलायक रह्यो । ती ५ खेलमा एकैमात्र बराबरी अनि लगातार चौथो हार । त्यतिमात्र होइन, यी ५ खेलमा एकमात्र गोल । यो सिजन सुरु हुनु अगाडि कम्तीमा कागजमा बलियो बुटवल–लुम्बिनीका लागि अब पोखरा थन्डर्सविरुद्धको अन्तिम खेल औपचारिक मात्रै हुनेछ । अर्कोतर्फ ललितपुरले भने आफ्नो अन्तिम लिग खेलमा झापा एफसीको सामना गर्नेछ । 

राम्रो नतिजा नआउँदा अनिद्रा

बुटवल–लुम्बिनीका कप्तान एरिक विष्ट पोस्टम्याच कन्फ्रेन्समा आए । उनले इमान्दारीपूर्वक आफ्नो भनाइ राखे । उनले भने, ‘समग्रमा भन्दा आज ९० मिनेट नै राम्रो खेल्न प्रयास गर्‍यौं । खेलको अन्तिम १५ मिनेटमै हामीले किन गोल खान्छौं, त्यो प्रश्न भएको छ । खेलाडी पनि घाइते छन् । राम्रो नतिजा नआउँदा खेलाडीलाई निद्रा लागेको छैन, सबै दुःखी छन् ।’ प्रशिक्षक पुष्पलाल शर्माले भने टिमको अन्तिम खेलमा व्यावसायिक खेल प्रदर्शन गर्ने प्रतिक्रिया दिए । 

ललितपुरले २३ औं मिनेटमा कप्तान अनन्त तामाङको गोलमा अग्रता लिएको थियो । मणि लामाको कर्नरलाई अनन्तले हेड गर्दै पोस्टको दिशा दिएका हुन् । दोस्रो गोल भने सन्तोष खत्रीको नाममा रह्यो । उनले ८८ औं मिनेटमा शक्तिशाली प्रहार मदतमा गोल गरे । मिडियासामु प्रस्तुत हुने क्रममा सन्तोषले भने, ‘मलाई एकदमै खुसी लागेको छ, किनभने मैले गोल गर्न सकें ।’ प्रशिक्षक साइमन ग्रेसनले भने टिमले क्लिन सिट राख्न सकेकामा खुसी प्रकट गरे । 

बराबरी खेल्ने झापाको बानी

शनिबारको ‘डबल हेडर’ को पहिलो खेलमा झापा र पोखराले बराबरी खेले । यो यस्तो नतिजा रह्यो, जसले दुवै टिमलाई खुसी दिने छैन । पोखराले स्टेफन समीर वियोङको गोलले ५२ औं मिनेटमा अग्रता लिएको थियो । आयुष घलानले सिर्जना गरेको मौकामा बियोङले चलाखीपूर्ण गोल गरे । झापाका लागि एरिसिच लाजरले ६५ औं मिनेटमा गोल गरे । यो भने वास्तवमै उत्कृष्ट गोल रह्यो । त्यतिमात्र होइन, यो सिजन फ्रि–किकमा सम्भव यो नै पहिलो गोल हो । 

सर्बियाली खेलाडी लाजरले २५ यार्डबाट गरेको प्रहार मीठोसँग गोलमा परिणत भयो । यो नतिजापछि झापाको चारै खेलबाट ४ अंक भएको छ । झापाको बराबरी खेल्ने नराम्रो बानी छ र संयोगले यो सिजन टोलीका सबै खेल बराबरीमै टुंगेको छ । त्यसैले टोली पुछारबाट दोस्रोमा छ । पोखरा भने ५ खेलबाट पाँचै अंकमा सीमित भयो र चौथो स्थानमा रह्यो । अब पोखराले आफ्नो अन्तिम लिग खेलमा बुटवल–लुम्बिनीको सामना गर्नेछ । अर्कोतर्फ झापाले भने धनगढी एफसी र ललितपुरको सामना गर्न बाँकी छ ।

हिमेश

Link copied successfully