प्रथम संस्करणको विजेता मधेश ३ खेलमै पराजित
कास्की — हिमाल फ्रेन्ड्स क्रिकेट क्लब पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप राष्ट्रिय खुल्ला टी–२० क्रिकेट प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । पोखरा क्रिकेट मैदानमा आइतबार मधेश प्रदेश क्रिकेट क्लबलाई ३ रनले हराएर हिमाल फ्रेन्ड्स समूह ‘सी’बाट सेमिफाइनल प्रवेश गरेको हो ।
डकवर्थ लुइस स्टर्न (डीएलएस) पद्धतिको आधारमा ३ रनले हिमाल फ्रेन्ड्स विजयी भएको हो । ११ ओभरको खेल सकिँदा मधेश ४ विकेटको क्षतिमा ६४ रन बनाएको थियो । वर्षाका कारण खेल रोकिएपछि डीएलएस पद्धतिअनुसार हिमाल फ्रेन्ड्स ३ रनले विजयी भयो ।
खेल रोकिनुअघि मधेशका ओपनर रोहन विकले सर्वाधिक ३० रन बनाएका थिए । उनले २७ बलमा ४ चौका प्रहार गरे । रवि सिंहले १८ रन बनाए । उनले २३ बलमा १ चौका र १ छक्का प्रहार गरे । एक्युब अन्सारी ४ र अरनिको यादव ५ रनमा आउट भए । विशाल सुस्लिङ ३ र दिपेश दास १ रनमा नटआउट रहे ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको हिमाले फ्रेन्ड्सले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २३ रन बनायो । आयुव चन्दले सर्वाधिक ३६ रन बनाए । उनले ३४ बलमा ६ चौका र १ छक्का प्रहार गरे । अभिनाश सिंहले १६ रनको योगदान दिए । अरुण दानी १५ रनमा नटआउट रहे । सञ्जय बोहोराले २२ रन जोडे । उनले २० बलमा २ चौका र १ छक्का प्रहार गरे । ओपनर सुबोध ऐरी ८, सन्दीप भण्डारी ५, मनसुन सिंह ३, सुनम बुढाथोकी, दीपक रोकाया र अभिनाष बस्याल शून्य रनमा आउट भए । मधेशका लागि विशाल सुस्लिङले ४ ओभरमा ८ रन खर्चेर ३ विकेट लिए । रूपेश सिंह र प्रदीप पासवानले समान २–२ विकेट लिए ।
समूह ‘सी’ को अर्को खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले कर्णाली एकेडेमीलाई ५ विकेटले हरायो । १ सय २ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७ ओभरमा ५ विकेटको क्षतिमा १ सय २ रन बनायो । तुलबहादुर थापाले सर्वाधिक २८ रनमा अविजित रहे । उनले १४ बलमा २ चौका र २ छक्का प्रहार गरे । सन्दीप राजालीले २७ रनमा अविजित रहे । उनले ३७ बलमा १ चौका र १ छक्का प्रहार गरे । ओपनर देव खनाल २ रनमै आउट भए । रञ्जित खत्रीले २१, मोहम्मद हुसेनले ८, निश्चल चौधरीले ७ र प्रज्वल थापा ६ रनमा आउट भए । कर्णालीका लागि नरेन्द्र सञ्जाल र सुवास भण्डारीले २–२, कृष्ण कार्कीले १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १ रन बनायो । कर्णालीका लागि सुवास भण्डारीले २६ रनको योगदान दिए । उनले २२ बलमा ५ चौका प्रहार गरे । सौरभ सकर्मीले २३ रन बनाए । उनले २२ बलमा ३ चौका र १ छक्का प्रहार गरे । विपीन शाहीले १९, कृष्ण कार्कीले १३, हिमांशु शाहीले ८ रनको योगदान दिए । नरेन्द्र सञ्जाल र दीपेन्द्र यादव समान ५–५ रनमा नटआउट रहे । रवीन्द्रजंग शाही र राजप्रसाद शाह समान १–१ रन बनाएर आउट भए । ओपनर अदित्यविक्रम शाह र अरुण ऐरी शून्य रनमै पेभिलियन फर्किए ।
लुम्बिनीका लागि एकलाख अहमेदले ४ ओभरमा २१ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । अजयकुमार चौहानले ४ ओभरमा २ मेडनसहित ९ रन खर्चेर ३ विकेट लिए । मोहम्मद हुसेन र सन्देश थापाले १–१ विकेट लिए । आइतबारको खेलमा हिमाल फ्रेन्ड्सका दीपक रोकाया र लुम्बिनीका एकलाख अहमेद प्लेयर अफ द म्याच बने । उनीहरुले ५–५ हजार रुपैयाँसहित ट्रफी पुरस्कार पाए ।
हिमाल फ्रेन्ड्स ३ खेलबाट २ जितसहित ५ अंक बनाएर शीर्ष स्थानमा रहृयो । लुम्बिनी २ जित र १ हारसहित ४ अंकका साथ दोस्रो, कर्णाली ३ खेलमा १ जित र १ हारसहित तेस्रो बने । प्रथम संस्करणको विजेता मधेश प्रदेश ३ खेलमै पराजित हुँदै अंकतालिकाको पुछारमा रहृयो ।
प्रतियोगितामा समूह ‘ए’बाट काठमाडौं र समूह ‘बी’बाट गण्डकी हिरोज सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । प्रतियोगितामा सोमबारदेखि समूह ‘डी’का खेल सुरू हुनेछन् । सोमबार सुन्दरहरैंचा क्रिकेट क्लब र अत्तरिया क्रिकेट क्लब, मालपोखरी क्रिकेट क्लब र होराइजोन क्रिकेट क्लब खेल्नेछन् । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा जारी प्रतियोगिताको फाइनल वैशाख ५ मा हुनेछ । प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।
