यूएईले टस जितेपछि नेपाल ब्याटिङमा, विपिन प्लेयिङ ११ बाहिर

चैत्र ३१, २०८१

विनोद पाण्डे

After UAE win the toss, Nepal bat, Vipin playing 11 out

काठमाडौँ — यूएई यू–१९ ले एसीसी यू–१९ विश्वकप एसिया छनोटमा टस जितेको छ । यूएईले मूलपानी क्रिकेट रंगशालामा टस जितेर नेपाललाई ब्याटिङका लागि बोलाएको छ । मैदान भिजेका कारण निर्धारित समयभन्दा साढे २ घन्टा ढिला ११.३० मा खेल सुरु हुनेछ ।

नरेनको कप्तानीमा रहेको नेपालले विपिन शर्मालाई खेलाएको छैन । चार महिनाअघि नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सनसनी मच्याउँदै देब्रेहाते स्पिनर विपिन इमर्जिङ प्लेयरमा चुनिएका थिए । नेपालले सन्तोष यादव, अपराजित पौडेल, युवराज खत्री र अशोक धामी गरी चार स्पिनरलाई खेलाएको छ ।

नेपालबाट साहिल पटेल र निरज यादव ओपनिङ ब्याटिङमा आउने छन् ।

मूलपानी क्रिकेट रंगशालामा हुन लागेको पहिलो अन्तर्राष्ट्रिय खेल मैदान भिजेका कारण निर्धारित समयमा सुरु हुन सकेन । अघिल्लो दिनको वर्षाले मैदान भिजनका कारण निर्धारित समयमा खेल सुरु हुन नसकेको हो । म्याच रेफ्रीले ११ बजे मैदान निरीक्षण गरेपछि ११.३० मा खेल सुरु गर्ने निर्णय सुनाएका हुन् ।

नेपाल र यूएईसहित अफगानिस्तान, ओमान र हङकङ समावेश यो प्रतियोगिता राउन्ड रोबिनका आधारमा हुनेछ र विजेता टोली आईसीसी यू–१९ विश्वकपमा पुग्नेछ ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा भने निर्धारित समयमै खेल सुरु भएको छ । पहिला ब्याटिङ गरेको ओमान यू–१९ ले १७ ओभरमा ५० रन बनाउँदा ५ विकेट गुमाइसकेको छ ।

विनोद पाण्डे पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully