काठमाडौँ — कप्तान नरेन भट्टको अर्धशतकमा नेपाले यू–१९ ले एसीसी यू–१९ विश्वकप एसिया छनोटमा यूएई यू–१९ लाई २ सय १ रनको लक्ष्य दिएको छ । टस हारेपछि ब्याटिङमा आएको नेपाल ४० ओभरमा छोट्याइएको खेलमा ९ विकेट गुमाई २ सय रन बनायो ।
नरेनले मूलपानी क्रिकेट रंगशालामा खेलिएको पहिलो अन्तर्राष्ट्रिय खेलमा ६७ रन बनाए । उनले ७५ बल खेल्दै ७ चौका प्रहार गरे । साहिल पटेल र निरजकुमार यादवले ८ ओभर भित्र ३२ रन जोडि नेपाललाई मध्यम सुरुआत दिलाएका थिए ।
निरज २४ बल खेलि ३ चौका प्रहार गरी १८ रनमा आउट भए । साहिलले ५४ बल खेली ४ चौका प्रहार गरी ३२ रन बनाए । सन्तोष यादव ११, रोशन विश्वकर्मा ४, अभिषेक तिवारी १, दर्श सोनार ५ र अपराजित पौडेल शून्यमा आउट भए । दिलशाद अलीले ४० बल खेलि १ छक्कासहित ३४ रन बनाए ।
अशोक धामी ८ बलमा १० रन बनाई अविजित रहे । यूएईबाट उदिस सुरीले ३ विकेट लिए । उनले ८ ओभरमा १ मेडन राख्दै २६ रन खर्चे । युग शर्मा र सालोम डी सुजाले २–२ विकेट लिए ।
मैदान भिजेका कारण निर्धारित समयभन्दा साँढे २ घन्टा ढिला ११.३० मा सुरु भएको थियो । नेपाल र यूएईसहित अफगानिस्तान, ओमान र हङकङ समावेश यो प्रतियोगिता राउन्ड रोबिनको आधारमा हुनेछ र विजेता टोली आईसीसी यू–१९ विश्वकपमा पुग्ने छ ।
