तिलोत्तमा — रुपन्देहीमा वैशाख ६ गतेदेखि १० औं मणिमुकुन्द कप पुरुष भलिबल इन्डो–नेपाल क्लब च्याम्पियनसिप २०८२ हुने भएको छ ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारालाई आत्मसाथ गर्दै मणिमुकुन्द क्लबको आयोजनामा हुने प्रतियोगितामा ३ विभागीय क्लबसहित भारतीय एक क्लब गरी ९ टिमको सहभागिता रहने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले ३ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, द्वितीय हुने टिमले २ लाख, ११ हजार १ सय ११ प्राप्त गर्नेछन् । तृतीय हुनेले १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार राखिएको छ । खेलमा सान्त्वना स्थान हासिल गर्ने टिमले ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछन् ।
साथै खेलमा अन्य ८ विधामा समेत नगद पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले बताए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडीको खेल कौशल प्रदर्शन गर्ने र नेपालको राष्ट्रिय खेल भलिबलको विकास गर्ने उद्देश्यले हरेक वर्ष खेल गर्ने गरिएको बताए । खेल सम्पन्न गर्नका लागि ६८ लाख खर्च लाग्ने आयोजकको अनुमान छ ।
प्रतियोगिता साँझ ६ बजेदेखि राति १० बजेसम्म चल्नेछ । 'हामीले ८औं संसकरण पनि रातिमा गरेका थियौं,' उनले भने, 'त्यसका लागि सुरक्षाकर्मी, स्वयंसेवक सबै व्यवस्थापन गर्नेछौं ।' प्रतियोगिता अन्तर्गत गत वर्ष सम्पन्न ९ औं संसकरणको २ लाख राशि पुरस्कारको राष्ट्रिय भलिबलको उपाधि नेपाल आर्मी क्लबले जितेको थियो ।
प्रतियोगिता वैशाख १३ गतेसम्म सञ्चालन हुनेछ ।
