प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि दाङ र बर्दिया भिड्दै

चैत्र ३०, २०८१

दुर्गालाल केसी

Dang and Bardia are competing for the title of state level football tournament

दाङ — लुम्बिनी प्रदेश खेलकुद परिषद्ले आयोजना गरेको प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि आज दाङ र बर्दिया भिड्दै छन् ।

शुक्रबार सम्पन्न सेमिफाइनल खेलबाट जीत दर्ता गर्दै दाङ र बर्दिया उपाधि नजिक पुगेका हुन् । फाइनल खेल आज दिउँसो ३ बजेपछि घोराही-१७ गैरागाउँस्थित लुम्बिनी फुटबल एकेडेमीको खेल मैदानमा हुने लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरनदाज गौतमले जानकारी दिए ।

गैरागाउँस्थित लुम्बिनी फुटबल एकेडेमीको मैदान शुक्रबार बिहान भएको पहिलो सेमिफाइनलमा दाङले बाँकेलाई ४–१ गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो । यसैगरी, तुलसीपुरस्थित बेलझुण्डी रंगशालामा दिउँसो भएको दोस्रो सेमिफाईनलमा बर्दियाले पाल्पालाई ५–२ गोलले हराउँदै फाईनल यात्रा तय गरेको छ ।

बेलझुण्डी रंगशालामा भएको दोस्रो सेमिफाईनल खेलमा बर्दियाले पहिलो हाफमा ३ गोल गर्दा दोस्रो हाफमा थप २ गोल गर्‍यो । पाल्पाले भने पहिलो हाफमा १ र दोस्रो हाफमा १ गोल मात्रै फर्कायो । पहिलो हाफको ५ मिनेटमै पाल्पाका अंकित मर्साङ्गीले गोल गर्दै अग्रता दिलाए पनि बर्दियाले त्यसपछि आक्रामक रुपमा खेल पस्कँदै नतिजा आफ्नो पक्षमा पार्यो ।

बर्दियाका लागि पहिलो हाफको २८ मिनेटमा प्रख्यात परियारले गोल फर्काए । लगत्तै चेतन थारुले ३१ मिनेटमा अर्को गोल थप्दै २–१ को स्थितीमा पुर्‍याए । ३६औं मिनेटमा चेतनले नै अर्को आकर्षक गोल गरे ।

 खेलको दोस्रो हाफको १५औँ मिनेटमा बर्दियाका राजन कठायतले गोल गर्दा इन्जुरी समयमा सुनिल आले मगरले अर्को एक गोल गर्दै बर्दियाको गोल संख्या ५ पुर्‍याए । उता, पाल्पाका सुदीप थापाले दोस्रो हाफको ३८ औँ मिनेटमा अर्को एक गाले गरे । सेमिफाइनल खेलमा कप्तानी प्रदर्शन गर्दै २ गोलसहित जीत दिलाउन भूमिका खेलेका बर्दियाका चेतन थारु प्लेयर अफ द म्याच भए ।

घोराहीमा भएको पहिलो सेमिफाईनल खेलमा दाङलाई उपाधि नजिक पुर्याउन विशाल केसीले १ गोल गर्दा हरि बुढा र विवेक रसाईलीले १–१ गोल गरे । पहिलो हाफको ११ मिनेटमा विशाल केसीले बाँके विरुद्ध गोल गर्दै अग्रता दिलाएका थिए । २८ औँ मिनेटमा हरि बुढाले अर्को गोल गर्दै २–० को दोब्बर अग्रता बनाए ।

दोस्रो हाफमा दाङले थप दुई गोल गर्‍यो । दोस्रो हाफको १६ औँ मिनेटमा विशाल केसीले अर्को गोल थप्दा २४ औँ मिनेटमा विवेक रसाईलीले दाङका लागि गोल थपे । खेलको २५ औँ मिनेटमा बाँकेका अभिशेष बुढाले सान्त्वना गोल फर्काए । दाङका लागि दुई गोलकर्ता विशाल केसी प्लेयर अफ द म्याच भए ।

लुम्बिनीका ७ जिल्लाको सहभागिता रहेको प्रतियोगिताका खेलहरु दुई समूह विभाजन गरेर आयोजना गरिएको लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव गौतमले बताए । उनका अनुसार, समूह ए मा दाङ, प्युठान, बाँके र कपिलवस्तु रहेका छन् भने समूह बी मा बर्दिया, रोल्पा र पाल्पा जिल्ला रहेका छन् । प्रदेशमा फुटबलको विकास र जिल्लामा रहेका खेलाडीको क्षमता पहिचान गर्न प्रतियोगिता आयोजना गरिएको गौतमले बताए ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully