‘ठूला स्टार’ हिजाजी

दुई सिजन उपविजेतामै रोकिएको धनगढी एफसी यसपालि नेपाल सुपर लिगमा मुख्य दाबेदार बन्दै

चैत्र ३०, २०८१

हिमेश

'Big Star' Hijaji

काठमाडौँ — धेरैको प्रश्न हो यो । नेपालमा खेल्ने सबैभन्दा राम्रा विदेशी फुटबल खेलाडी को होलान् ? यसको जवाफ सजिलो छैन । अझ असम्भव नै भन्दा हुन्छ । त्यो प्रश्नको एउटा जवाफ भने यो हुनसक्छ, लेवनानी अहमद हिजाजी । उनको ह्याट्रिक मदतमा धनगढी एफसीले शुक्रबार नेपाल सुपर लिग (एनएसएल) मा सानदार जित रच्यो ।

हिजाजीको जादुयी प्रदर्शन अगाडि माथ खाने टिम रह्यो काठमाडौं रेजर्स । यो खेल आफैंमा प्रतियोगिता इतिहासकै एक उत्कृष्ट रह्यो । 

पहिलो हाफको त झन के कुरा गर्ने, खेल भन्नु नै त्यही सुरुआती ४५ मिनेट थियो । त्यसैमा तीन गोल गरेर हिजाजी एनसएल इतिहासमै यस्तो उपलब्धि चुम्ने तेस्रो खेलाडी भए । उनी काठमाडौंका मेसुके ओलेमोउ र वीरगन्ज युनाइटेडका विलियम ओपुकेपछि ह्याट्रिककर्तामा दरिए । हिजाजी प्रतियोगिता तेस्रो सिजन पुग्दा सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि भएका छन् । उनले दुई सिजनमा गरेर ९ गोल पुर्‍याएका छन् । यसका लागि उनले १४ खेल खेलेका छन् । 

एक गोलले पछाडि रहेर प्राप्त पुनरागमन जितपछि धनगढीका स्पेनी प्रशिक्षक हुँवा म्यानुएल मार्टिनेज स्वाभाविक रूपमा असाध्यै खुसी भए । उनले भने, ‘एनएसएलका सबैभन्दा ठूला स्टार हुन्, हिजाजी । मेरो आफ्नो प्रशिक्षक जीवनमा जति पनि खेलाडी आए, त्यसमध्ये सबैभन्दा उत्कृष्ट तीनमा हिजाजी पर्छन् । उनी आफ्नो भूमिकालाई असाध्यै मीठोसँग निभाउँछन् ।’ हिजाजी पनि के कम । उनले पनि तिनै मार्टिनेजको प्रशंसा गर्दै भने, ‘उनीचाहिँ मलाई खेलाएका प्रशिक्षकमध्ये सबैभन्दा उत्कृष्ट नै हुन् ।’ 

धनगढी शीर्षमा

यो जितसँगै धनगढी ४ खेलबाट ८ अंकसहित शीर्षस्थानमा पनि उक्लेको छ । डिफेन्डिङ च्याम्पियन ललितपुर सिटीको पनि ४ खेलबाट ८ अंक नै छ । गोल अन्तरले धनगढी अगाडि छ । ललितपुरसँगै धनगढी पनि लगभग प्लेअफमा पुगेको छ । यसको ठीक उल्टो काठमाडौंको स्थिति भने अत्यधिक नाजुक बनेको छ । काठमाडौंको ५ खेलबाट ६ अंकमात्र छ । टोलीको यो दोस्रो हार हो । 

आफ्नो अन्तिम खेलमा काठमाडौंले चितवन एफसीको सामना गर्नेछ । 

यो खेल जित्ने हो भने पनि काठमाडौंको बढीमा ८ अंक हुनेछ । त्यसैले काठमाडौंलाई यो खेल जितेर मात्र पुग्ने छैन । अरू खेलको नतिजा आफूअनुकूल हुनुपर्नेछ । ‘हामी प्लेअफको हकदार छैनौं भने त्यहाँ पुग्दैनौं,’ काठमाडौंका प्रशिक्षक प्याट्रिक डे वाइडले इमान्दारीपूर्वक स्वीकारे, ‘अन्त्यसम्म पनि हाम्रो प्रयास भने जारी रहनेछ । धनगढीलाई मेरो बधाई छ । धनगढी बलियो टिम हो, हिजाजीको प्रदर्शन निर्णायक रह्यो ।’

बेल्जियमका प्रो–लाइसेन्सप्राप्त प्रशिक्षकले यो खेलका सही र सटिक विश्लेषण पनि गरे । उनले भने, ‘एक गोलले अगाडि रहेको स्थितिमा हामीले दोस्रो गोल गरेको भए जित हाम्रै हुने थियो । तर, हामीले त्यस्तो गर्न सकेनौं र खेल धनगढीको पक्षमा मोडियो । टोलीले पहिलो हाफमै तीन गोल फर्कायो र खेल पूर्णतः हाम्रो नियन्त्रणबाट बाहिरियो ।’ काठमाडौंले २२ औं मिनेटमा अग्रता लिएको थियो । यसका लागि एमाडोउ डिओपले पेनाल्टी बक्सबाट शक्तिशाली प्रहार गरे । 

खेलको ३२ औं मिनेटमा भिन्सेन्टो कोजेलोको प्रहारमा धनगढीका गोलरक्षक वालिड बिरोउले उत्कृष्ट बचाउ गरे । यो यस सिजनकै उत्कृष्ट बचाउ हुनुपर्नेछ गोलरक्षकको । यो स्थितिमा गोल भएको भए धनगढीले पुनरागमन गर्न सक्ने थिएन । हिजाजीले ३५, ४१ र पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा गोल गरेका थिए । उनले आफ्नो ह्याट्रिकका लागि १२ मिनेटभित्रै पूरा गरे । उनको दोस्रो गोलमा कृतिशरत्न छुन्जुले उत्कृष्ट प्रदर्शन गर्दै अवसर बनाइदिए । 

दुवै टिम १० खेलाडीमा 

दोस्रो हाफमा दुवै टिमको प्रदर्शन निर्णायक हुन सकेन । अझ भनौं, खेलका पूरा कथा पहिलो हाफमै लेखियो । दोस्रो हाफको सबैभन्दा ठूलो विशेषता भन्नु नै दुवै टिम १० खेलाडीमा हुनु हो । रेफ्री प्रज्ज्वल क्षेत्रीले धनगढीका रन्दीप पौडेललाई दोहोरो पहेँलो कार्डमा मैदान बाहिर पठाए भने काठमाडौंका कोजेलोलाई सिधै रातो कार्ड देखाए । दुवैबीच हात हालाहालको स्थिति बनेको थियो । समय थियो ८६ औं मिनेट । काठमाडौंका लागि यो अझ धेरै महँगो साबित हुन सक्नेछ । 

चितवनविरुद्धको अन्तिम खेलमा अब कोजेलो हुने छैनन् । धनगढीका प्रशिक्षक मार्टिनेजले पनि आफ्नो टिम प्ले–अफ पुगिसकेको छ भनेर दाबी गरेनन् । हिजाजीले यहाँनिर सही बोले । उनको भनाइ थियो, ‘हामीले गर्नुपर्ने काम अझै बाँकी छ ।’ सम्भवतः उनको संकेत थियो, धनगढी त्यतिबेला मात्र रोकिनेछ, जतिबेला उपाधि जित्नेछ । यसअघिका दुई सिजन धनगढी उपविजेतामै रोकिएको छ । 

काठमाडौं रेजर्सविरुद्ध शुक्रबार ह्याट्रिक गरेका धनगढी एफसीका अहमद हिजाजी (९९) टिमका साथीहरूसँग खुसी साट्दै । खेल धनगढीले ३–१ ले जित्यो ।

हिमेश

Link copied successfully