काठमाडौँ — केही फिक्का खेलको शृंखलापछि नेपाल सुपर लिग (एनएसएल) मा बिहीबार रोमाञ्चक भिडन्त भयो । दशरथ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसीले संघर्ष गर्दै चितवन एफसीलाई पराजित गर्यो । यो जितपछि ललितपुरको ४ खेलबाट ८ अंक भएको छ । टोली शीर्षस्थानमा उक्लेको छ । सम्भवतः ललितपुरले प्लेअफ प्रवेशलाई चाहिने जादुयी अंक छोएको छ । यस्तोमा भन्न सकिनेछ, ललितपुरको एक पाइला प्लेअफमा परेको छ ।
प्रशिक्षक साइमन ग्रेसन भने अझै ढुक्क छैनन् । भन्छन्, ‘प्लेअफ प्रवेशका लागि अबको खेलमा त्यही काम गर्नेछौं, जुन गर्न आवश्यक हुनेछ ।’ लिग चरणका आफ्ना बाँकी दुई खेलमा ललितपुरले बुटवल–लुम्बिनी र झापा एफसीको सामना गर्नेछ । ग्रेसन थप्छन्, ‘हामी लिग चरणमा अपराजित रहन चाहन्छौं ।’ संयोगले ललितपुरले एनएसएलको छोटो इतिहासमा अपराजित खेल शृंखलाको नयाँ कीर्तिमान बनाएको छ । ललितपुर पछिल्ला ७ खेलमा अपराजित छ ।
त्यसमध्ये गत सिजनका ३ र यस सिजनका ४ खेल समावेश छन् । चितवन भने यो हारसँगै एकाएक दबाबमा आएको छ । अबको टोलीको यात्रा कठिन साबित हुन सक्नेछ । चितवन ४ खेलबाट ७ अंकमै सीमित रह्यो । सुरुका दुई खेल जितेर राम्रो सुरुआत लिएको चितवनले त्यसपछि लय कायम राख्न सकेको छैन । अब चितवनले खेल्न बाँकी दुई खेलमा काठमाडौं रेजर्स र धनगढी एफसीको सामना गर्नेछ । ‘पछिल्ला दुई खेलको नतिजाले हामीलाई गाह्रै भयो,’ प्रशिक्षक नवीन न्यौपानेले भने ।
दोस्रो छिटो गोल
ललितपुरले तेस्रो मिनेटमै अग्रता लिएको थियो र यो गोल इमोह इजिकेलको नाममा रह्यो । मणि लामाको फ्रिकिकमा अनमार्क रहेका इजिकेलले हेड गर्दै बललाई पोस्टको दिशा दिए । यो ‘टेक्ट्स बुक’ गोल जस्तै रह्यो । प्रतियोगिताकै इतिहासमा यो दोस्रो छिटो सम्भव गोल रह्यो, यस सिजनको भने सबैभन्दा छिटो । यसअघि दोस्रो सिजन धनगढीका फोडे फोफानाले वीरगन्ज युनाइटेडविरुद्ध दोस्रो मिनेटमै गोल गरेका थिए । दोस्रो हाफको मध्यभागमा चितवन बराबरी गोल फर्काउन सफल रह्यो ।
भिक्टर मानसरेले ७४ औं मिनेटमा गोल गरे । ललितपुरले राम्रोसँग क्लियर गर्न नसकेको बललाई मानसरेले जालीको सम्पर्कमा पुर्याए । मणिले खेलको ८० औं मिनेटमा निर्णायक गोल गरे । उनले पेनाल्टी एरिया नजिकबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भयो । चितवनले यो हारसँगै ५ खेलको अपराजित यात्रा पनि गुमाएको छ । पछिल्लो सिजनका दुई र यस सिजनका सुरुआती तीन खेलमा चिवतन हारेको थिएन, तर अहिलेको एक हार टोलीका लागि घातक साबित हुन सक्नेछ ।
पूरा खेलमा छाएका मणि मिडियासामु प्रस्तुत हुँदा खुसी रहे । आफूले गरेको निर्णायक गोललाई लिएर उनी आफैं अन्योलमा थिए, किनभने यो यति धेरै तनाव र कम समयमा भएको थियो उनले बुझ्नै पाएनन् । ‘तर मेरो उद्देश्य पोस्टमै प्रहारका लागि थियो । सायद विपक्षी खेलाडीलाई छोएर गएको पनि हुनसक्छ,’ मणिले भने । उनले के पनि दाबी गरे भने ललितपुर टिमको मानसिक स्थिति निकै बलियो छ र टिम अहिलेको लयलाई कायम राख्न चाहन्छ ।
