बारा — सिमरा रंगशालामा जारी १५ औं जीतपुरसिमरा गोल्डकपको उपाधि हात पार्न मच्छिन्द्र फुटबल क्लब र हिमालयन शेर्पा क्लब शुक्रबार भिड्दै छन् । फ्लड लाइटमा हुने प्रतियोगिताको अन्तिम भिडन्तमा दुवै 'ए डिभिजन'का टोली उपाधि जित्ने दाउमा आआफ्नै रणनीतिका साथ भिड्दै छन् । उपाधि जितेर ०८१ को सुखद अन्त्य गर्न दुवै टोली चाहन्छन् ।
मच्छिन्द्र दोस्रो पटक जितपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो । योसहित मछिन्द्र दोस्रो पटक फाइनलमा प्रवेश गरेको हो ।
अघिल्लो वर्ष अर्थात १४ औं संस्करणको फाइनलमा पुलिससँग पराजित हुँदै उपविजेतामा बनेका थिए । गत वर्ष उपविजेतामै चित्त बुझाएर सिमित भएको मच्छिन्द्रले यसपटक पुलिसलाई क्वाटरफाइनलमा पछार्दै उच्च मनोबलका साथ उपाधिका लागि मैदानमा उत्रिदैँ छ ।
यसरी चौथो पटक जितपुर सिमरा गोल्डकपको फाइनल खेल्न तम्त्यार हिमालयन शेर्पाले मच्छिन्द्रसँग भिड्दै यो वर्ष मोफसलका प्रतियोगितामा हारको बदला लिने लक्ष्य राखेको छ । यसअघि सिमरा रंगशालामा १३ औं संस्करण र चौथो संस्करणको फाइनलमा उपविजेता बनेको शेर्पाले ०६७ मा सम्पन्न प्रतियोगिताको दोस्रो संस्करणको उपाधि जितेको थियो ।
सिमरा रंगशालामा हुने अन्तिम भिडन्तमा भने मच्छिन्द्र पहिलो पटक प्रतियोगिताको विजेता बन्ने लक्ष्य राखको छ । मच्छिन्द्र २०८१ को चौथो उपाधि उचाल्ने दाउमा लागेर फर्कने योजनामा छ । यो वर्ष काठमाडौंमा सम्पन्न केपी ओली कप, इटहरी गोल्डकप र कपिलबस्तु तिलौराकोट गोल्डकपको उपाधि जितेको मच्छिन्द्र मोफसलको अन्तिम प्रतियोगिताबाट वर्षको सुखद अन्त्य गर्ने योजनामा छ ।
सिमरा रंगशालामा हिमालयन शेर्पा दोस्रोपटक प्रतियोगिताको उपाधि उचाल्ने दाउमा हुनेछ भने हिमालयन शेर्पा वर्ष ०८१ कै पहिलो उपाधि जित्ने लक्ष्य बनाउँदै उपाधि हात पार्न चाहन्छ । यो वर्ष मोफसलका प्रतियोगितामा थोरै सहभागिता जनाएको हिमालयन शेर्पा हालसम्म उपाधिविहीन छ ।
सिमरा रंगशालामा मच्छिन्द्र र हिमालयन शेर्पा यो वर्ष तेस्रोपटक भिड्दै छन् । यसअघि पाँचथर र कपिलवस्तु तिलौराकोट गोल्डकपमा दुवै खेल मच्छिन्द्रले जितेको थियो । सिमरा रंगशालामा मच्छिन्द्रसँग मोफसलका दुई प्रतियोगितामा बेहोरेको हारको बदला लिने लक्ष्यमा हिमालयन शेर्पा रहेको छ ।
मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले आफूहरु उपाधि जित्नेमा पूर्ण विश्वासमा रहेको बताए । ‘हामी सिजनको चौथो उपाधि जित्ने लक्ष्यमा छौं,’ उनले भने, ‘मोफसलकै प्रतियोगितालाई लक्षित गरी टिम निर्माण गरिएको छ ।’
हिमालयन शेर्पाका प्रशिक्षक प्रज्वल प्रताप क्षेत्रीले आफूहरु वर्षको पहिलो उपाधि जित्ने लक्ष्य लिएर मैदानमा उत्रने लक्ष्य राखेको बताए । युवा खेलाडी सम्मिलित टोलीले जीतपुरसिमरा गोल्डकपको उपाधिसहित वर्ष ०८१ को अन्त्यका लागि आफूहरु उत्साहित रहेको उनले बताए । उनले भने, ‘हाम्रा उर्जावान युवा शक्तिले यस वर्ष सिमरा रंगशालामा इतिहास रच्नमा विश्वस्त छु ।’
मच्छिन्द्रले आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४–३ र सेमिफाइनलमा भरतपुरको हनामी बिएफसीलाई १–० ले पराजित गर्दै फाइनलको अवसर पाएको थियो ।
हिमालयन शेर्पाले भने क्वाटरफाइनलमा फ्रेण्ड्स क्लबलाई १–० र सेमिफाइनलमा आयोजक घरेलु टिम नव जनजागृति क्लब सिमरालाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा भिड्दै छ ।
खेल मैदान सिमरा रंगशालामा बिहीबार पत्रकार सम्मेलनमा उपस्थित मच्छिन्द्रका कप्तान रेजिन सुब्बा र हिमालयन शेर्पाका कप्तान विश्वास श्रेष्ठ दुबैले उपाधि जित्ने दाबी गरे ।
फाइनल खेलमा करिब २५ हजार दर्शक उपस्थित हुने अपेक्षा आयोजकले राखेको छ । यस वर्षको प्रतियोगितामा आर्थिक अभाव र प्रतियोगिता ढिला हुन गएकोले ८ वटा मा टिम सहभागी भए ।
जीतपुरसिमरा गोल्ड कपको हालसम्मका उपाधि विजेता
