मेयरकप अन्तरपालिका क्रिकेटमा इटहरी उपाधि नजिक

चैत्र २९, २०८१

अर्जुन सुवेदी

Itahari title in Mayor Cup inter-municipal cricket is close

सुनसरी — इटहरी उपमहानगरपालिका दोस्रो संस्करणको मेयरकप अन्तरपालिकास्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । इटहरी-९ स्थित जनता क्रिकेट खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा इटहरीले इलामको माई नगरपालिकामाथि ४२ रनको जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । 

इटहरीले प्रस्तुत गरेको २ सय ७ रनको विजयी लक्ष्य पछ्याएको माईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय ६४ रन मात्र बनाउन सक्यो । माईका लागि लभ कामतले सर्वाधिक ५० रन बनाए । ३३ बलको सामना गरेका उनले १ छक्का र ५ चौका प्रहार गरे पनि टिमलाई जिताउन सकेनन् ।

२४ बल खेलेका सन्दीप ढुंगानाले ३ छक्का र २ चौकाको मद्दतमा ३७ रन बनाए । सिवांश बजगाईंले ३१ र अनिल लामिछानेले २१ रन जोडे । इटहरीका प्रकाश कार्कीले ३ र जोसक खड्काले २ विकेट हात पारे । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इटहरीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ६ रन बनाएको थियो । इटहरीको इनिङमा अंकित सुवेदी र गौरव कटुवालले अर्धशतकीय इनिङ खेले । अंकितले ३८ बलको सामना गर्दै ४ छक्का र ९ चौकाको मद्दतमा ७७ रन बनाए । गौरवले ६२ रन बनाए । ५० बलको सामना गरेका उनले ८ चौका प्रहार गरे । रितेष रायले ४० र रोहन शाहले नटआउट ११ रन बनाए ।

माई नगरपालिकाका श्याम यादव, सन्दीप ढुंगाना र अनिल लामिछानेले १–१ विकेट लिए । खेलको म्यान अफ द म्याच इटहरीका अंकित सुवेदी घोषित हुँदै नगद १ हजार ५ सय पुरस्कार पाए ।

इटहरीले उपाधिका लागि शनिबार झापाको दमक नगरपालिका र विराटनगर महानगरपालिकाबीच शनिबार हुने अन्तिम सेमिफाइनल विजेतासँग आइतबार फाइनलमा प्रतिस्पर्धा गर्नेछ । इटहरीले संयोजन गरेको प्रतियोगितामा झापा, मोरङ, सुनसरी उदयपुर र धनकुटाका १८ पालिकाका टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताका विजेताले नगद १ लाख र उपविजेताले ५० हजार पाउने प्रतियोगिता संयोजक सीपी पौडेलले बताए । 

अर्जुन सुवेदी

Link copied successfully