इन्डो-नेपाल क्रिकेट : उपाधि होडमा पटना र विराटनगर

चैत्र २९, २०८१

कान्तिपुर संवाददाता

Indo-Nepal Cricket: Patna and Biratnagar in title race

विराटनगर —  चौथो मिल्स कप इन्डो-नेपाल ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि भारत पटनाको हाइपर क्रिकेट क्लब र घरेलु टोली विराटनगरको वाईआरसीसी क्रिकेट क्लब प्रतिस्पर्धा गर्ने छन् ।  शनिबार पटना र विराटनगर उपाधि जितका लागि खेल्ने छन् । 

मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीले विराटनगरको जुट मिलको खेल मैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा खेलमा पटनाले विराटनगरको होराइजन क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश यात्रा तय गरेको हो ।

टस जितेर ब्याटिङ गरेको होराइजनले निर्धारित १६ ओभरको खेलमा ८ विकेटको क्षतिमा ११३ रन बनायो । जसमा मिनास थापाले ३७ रन, फिर्दोस अन्सारीले १७ रन र प्रेम कामतले १४ रनको योगदान गरेका थिए । बलिङमा पटनाका लागि रिसब राकेशले ३ विकेट, विक्की रन्जनले २ विकेट, नन्द किशोर र पुरुसोत्तम कुमारले समान १–१ विकेट लिएका थिए । 

११७ रनको लक्ष्य पटनाले १४ ओभर ४ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो । जसमा विक्की रन्जनले ३४ रन, पुरुषोत्तम कुमारले ३२ रन र अनुज रन्जनले २७ रनको योगदान गरे । बलिङमा होराइजनका लागि फिर्दोस अन्सारीले ३ विकेट र दिपेश काडेलले १ विकेट लिए ।  खेलको प्लेयर अफ द म्याच पटनाका विक्की रन्जनले नगर ३ हजार रुपैयाँ पाए ।  

त्यस्तै, शुक्रबारै सम्पन्न दोश्रो सेमिफाइनलमा विराटनगरको वाईआरसीसीले विराटनगरकै सिद्धार्थ क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै फाइनल यात्रा तय गर्यो ।  वाईआरसीसीले टस जितेर फिल्डिङ राजेर पहिलो ब्याटिङको अवसर सिद्धार्थलाई दिएको थियो । पहिले ब्याटिङ गरेको सिद्धार्थले १३ ओभर ४ बल खेल्दै अलआउट भएर ७७ रन मात्रै बनायो । जसमा अविनाश कर्णले २०, नितेश यादवले १९, नुमार अहमदले १३ रनको योगदान गरे । बलिङमा वाइआरसीसीका लागि राम नरेश गिरीले ६ विकेट लिए भने नरेन साउद र अमित श्रेष्ठले २–२ झारे ।

७८ रनको विजय लक्ष्य पाएको वाइआरसीसीले ७ ओभर ५ बलमा ४ विकेट गुमाउँदै लक्ष्य प्राप्ति गर्यो । जसमा इमरान शेखले ३०, शंकर रानाले १८ र लोकेश बमले १४ रन बनाए । बलिङमा सिद्धार्थका लागि श्रवण यादव र दिवान पुनले २–२ विकेट लिए ।  खेलको प्लेयर अफ द म्याच वाइआरसीसीका राम नरेश गिरीले नगद ३ हजार रुपैयाँ पाए । 

मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीकी सचिव शान्ता श्रेष्ठका अनुसार शनिबार हुने फाइनलका विजेता टोलीले २ लाख १ हजार र उपविजेता टोलीले १ लाख १ हजार रुपैयाँ पाउने छन् । 

कान्तिपुर

Link copied successfully