दाङ — लुम्बिनी प्रदेशस्तरीय फुटबल प्रतियोगितामा दाङ फाइनलमा प्रवेश गरेको छ । घोराही -१७ गैरागाउँस्थित लुम्बिनी फुटबल एकेडेमीको मैदानमा शुक्रबार बिहान भएको पहिलो सेमिफाइनलमा दाङले बाँकेलाई ४-१ गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो ।
दाङलाई उपाधि नजिक पुर्याउन विशाल केसीले १ गोल गर्दा हरि बुढा र विवेक रसाइलीले १-१ गोल गरे । पहिलो हाफको ११ मिनेटमा विशाल केसीले बाँकेविरुद्ध गोल गर्दै अग्रता दिलाएका थिए । २८ औँ मिनेटमा हरि बुढाले अर्को गोल गर्दै २-० को दोब्बर अग्रता बनाए ।
दोस्रो हाफमा दाङले थप दुई गोल गर्यो । दोस्रो हाफको १६ औँ मिनेटमा विशाल केसीले अर्को गोल थप्दा २४ औँ मिनेटमा विवेक रसाइलीले दाङका लागि गोल थपे ।
खेलको २५ औँ मिनेटमा बाँकेका अभिशेष बुढाले सान्त्वना गोल फर्काए । दाङका लागि दुई गोलकर्ता विशाल केसी प्लेयर अफ दि म्याच भए ।
अब प्रतियोगिता अन्तर्गत तुलसीपुरको बेलझुण्डी रंगशालामा दोस्रो सेमिफाइनल खेल हुने लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरनदाज गौतमले जानकारी दिए । दोस्रो सेमिफाइनल खेल बर्दिया र पाल्पाबीच दिउँसो ३ बजेपछि हुने उनले बताए । लुम्बिनीका ७ जिल्लाको सहभागिता रहेको प्रतियोगिताका खेलहरु दुई समूह विभाजन गरेर भइरहेको उनले बताए ।
उनका अनुसार, समूह 'ए'मा दाङ, प्युठान, बाँके र कपिलवस्तु रहेका छन् भने समूह 'बी'मा बर्दिया, रोल्पा र पाल्पा जिल्ला रहेका छन् । प्रदेशमा फुटबलको विकास र जिल्लामा रहेका खेलाडीको क्षमता पहिचान गर्न बिहीबारदेखि प्रतियोगिता आयोजना गरिएको उनले बताए ।
