काठमाडौँ — नेपालले हङकङमा सुरु चारदेशीय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । शीर्ष चार ब्याटरको उच्च प्रदर्शनपछि नेपालले बुधबार मोङ ककमा कतारलाई ८ विकेटले हरायो ।
टस हारेपछि ब्याटिङ निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ५१ रन बनाएको थियो । त्यसमा कप्तान इक्रामुल्लाह खानको ५४ रनको योगदान रह्यो । उनले प्रतिबलको हिसाबमा खेल्दै ५ चौका र २ छक्का प्रहार गरे । ओपनरद्वय अरुमुगागनेश नागराजन १३ र रिफायी थेरुभाथ ६ रनमा आउट भएपछि खानले इनिङ्स सम्हालेका थिए । खान र शाहजाइब जमिलले तेस्रो विकेटमा ४७ रनको साझेदारी गरे । जमिलले २१ बल खेल्दै ४ छक्कासहित ३१ रन बनाए । जसिम खान ४ रनमा आउट भए । मुजिब उर रहमान १९ बलमा १ चौकासहित २० र मोहम्मद इर्शाद ७ बलमा १ चौका र २ छक्कासहित १८ रन बनाएर अविजित रहे । नेपालबाट करण केसी, सोमपाल कामी, नन्दन यादव, गुलशन झा र ललित राजवंशीले १–१ विकेट लिए ।
कुशल भुर्तेल र आसिफ शेखले पावर–प्लेभित्र ८१ रन जोडेर आक्रामक सुरुआत दिलाएपछि नेपालले १७ ओभरमै १ सय ५४ रन बनाएको थियो । प्लेयर अफ द म्याच भुर्तेलले १९ बल खेल्दै ४ चौका र ३ छक्कासहित ३८ तथा आसिफले २१ बल खेल्दै ४ छक्कासहित ३३ रन बनाए । दुवैलाई मुजिबले आउट गरे । कप्तान रोहित पौडेल २९ बल खेल्दै २ चौका र १ छक्कासहित ३७ र बसिर अहमद ३३ बलमा २ चौकासहित ३० रन बनाएर अविजित रहे ।
दिनको अर्को खेलमा कुवेतले आयोजक हङकङलाई ४ विकेटले पराजित गरेको थियो । हङकङले पहिला ब्याटिङ गरी बनाएको १ सय ७५ रनलाई कुवेतले १९ ओभरमा १ सय ८० रन बनाएर पूरा गर्यो । नेपालले बिहीबार कुवेतसँग खेल्नेछ ।
नेपाल यू–१९ क्रिकेट टिमले अफगानिस्तान यू–१९ विरुद्धको तेस्रो युथ एकदिवसीय क्रिकेटमा सफलता हात पारेको छ । नेपालले मूलपानी क्रिकेट मैदानमा बुधबार अफगानिस्तानलाई डकवर्थ लुइस पद्धतिका आधारमा ८५ रनले पराजित गरेको हो ।
अफगानिस्तान यू–१९ ले टस जितेपछि ब्याटिङ निम्तो पाएको नेपाल यू–१९ केवल ४४.५ ओभर खेल्दै १ सय ९१ रनमा अलआउट भयो । जवाफमा अफगानिस्तान यू–१९ ले २०.१ ओभरमा ६ विकेट गुमाई ४६ रन बनाउँदा खेल वर्षाले प्रभावित पारेको थियो । थप खेल हुन नसकेपछि नेपाल डकवर्थ लुइसका आधारमा धेरै अगाडि रह्यो ।
यद्यपि सुरुका दुई खेलमा क्रमशः १ सय ३० रन र १ रनले विजयी हुँदै अफगानिस्तानले शृंखला यसअघि नै आफ्नो पक्षमा पारिसकेको थियो । आइतबारदेखि मूलपानीमै हुने आईसीसी यू–१९ विश्वकप एसिया छनोटको तयारी क्रममा यी दुईले यो शृंखला खेलेको हो ।
साहिल पटेल र नीरजकुमार यादवले जुन सुरुआत दिलाए, त्यसको फाइदा नेपालले उठाउन सकेन । यी दुईले १५ औं ओभरमा ८३ रन जोड्दै उत्कृष्ट सुरुआत दिलाए । नीरज ४२ रनमा आउट भएपछि साझेदारी टुटेको थियो । उनले ४७ बल खेल्दै ६ चौका र १ छक्का प्रहार गरे ।
साहिलले ६२ बलमा ४ चौका र १ छक्का हान्दै ४६ रन बनाए । कप्तान नरेन भट्टले ३५ बलमा ३ चौकासहित २२, दर्शन सोनारले १० र रोशन विश्वकर्माले २३ बलमा २ चौका र २ छक्का प्रहार गर्दै २८ रन बनाए । तर त्यसपछि आएका सन्तोष यादव ७, दिलसाद अली ३, अशोक धामी १, विपिन शर्मा ४ रन र अपराजित पौडेल शून्यमा आउट भएपछि नेपाली युवा टोली निर्धारित ओभरअगाडि नै समेटियो ।
अफगानिस्तानका हसिफ जद्रानले ४ विकेट लिए । उनले १० ओभरमा २ मेडन राख्दै ४९ रन खर्चे । अब्दुल अजिज र जाइतुल्लाह साहिनले २–२ तथा रोहुल्लाह अरब र महबुब खानले १–१ विकेट लिए ।
जवाफमा नेपालले अफगानिस्तानका दुवै ओपनरलाई खाता खोल्नु अगाडि नै आउट गरेर सनसनी सुरुआत गरेको हो । दयानन्द मण्डलले इनिङ्सको पहिलो बलमै उजाइरुल्लाह निएजाई बोल्ड गरे भने दोस्रो ओभरमा विपिनले खालिद अहमदजाई पनि बोल्ड गरेका थिए ।
फैजल सिनोजादा १६, महबबु ८, बक्रत इब्राहिमजाई ५ र नाजिफुल्लाह अमिरी १ रनमा आउट भए । अजिजुल्लाह मिया खिल १५ र साहिनले खाता खोल्नेक्रममा रहेको समयमा वर्षाले खेल रोकिन पुगेको थियो । नेपाल यू–१९ बाट अपराजितले २ तथा दयानन्द, विपिन, सन्तोष यादव र अशोक धामीले १–१ विकेट लिए ।
नेपालले डिसेम्बरमा यूएईमा भएको एसीसी यू–१९ एसिया कपमा पनि अफगानिस्तानलाई १ विकेटले हराएको थियो । नेपालले आइतबार यूएईसँग तल्लो मूलपानी र अफगानिस्तानले ओमानसँग माथिल्लो मूलपानीमा खेलेर आईसीसी यू–१९ विश्वकप एसिया छनोटको यात्रा सुरु गर्नेछ ।
