नेपाल सुपर लिग : गोलरहित बराबरी दुवैलाई घाटा

पोखरा थन्डर्स र धनगढी एफसीले गोलरहित खेलेपछि एनएसएलमा गोलविहीन खेल चार पुग्यो

चैत्र २८, २०८१

हिमेश

Nepal Super League: Goalless draw, loss for both

काठमाडौँ — यस सिजनको नेपाल सुपर लिग (एनएसएल) मा किन गोल निस्किरहेको छैन त ? प्रतियोगितालाई लिएर यो महत्त्वपूर्ण प्रश्न हुनेछ । त्यो भन्दा पनि महत्त्वपूर्ण हुनेछ यसका कारणहरू । कमजोर तयारी, तयारीका लागि समय नै नहुनु, लगातार खेल्नुपर्ने दबाब, माथिल्लो दर्जाको स्ट्राइकर नहुनु, यिनै त हुन सक्छन् कारणहरू । बुधबार पनि एक अर्को खेल गोलरहित बराबरीमा टुंगिएको छ । यो नतिजाले पोखरा थन्डर्स र धनगढी एफसी दुवै टिमलाई घाटामात्रै हुनेछ ।

लिग चरणमा यो १२ औं खेल थियो । यसमध्ये ४ खेलमा कुनै गोल हुन सकेन । दशरथ रंगशालामा भएको खेलमा केही हदसम्म धनगढी बलियो देखियो, तर टोलीले पनि आक्रमणलाई निर्णायक बनाउन सकेन । बुटवल–लुम्बिनी एफसीविरुद्धको खेलमा सानदार जित निकालेको धनगढीले त्यसपछिका दुई खेलमा लगातार गोल गर्न सकेको छैन । यो टिमका लागि चिन्ताको विषय हुनेछ । धनगढीको तीन खेलपछि ५ अंक भएको छ । टोली अपराजित छ । 

‘नतिजालाई लिएर म पक्कै निराश छु, तर टिमको प्रदर्शनमा गुनासो छैन,’ प्रशिक्षक हुँवा म्यानुयल मार्टिनेजले भने । उनको तर्क थियो, कहिलेकाहीँ रक्षात्मक खेल्दा पनि गोल निस्कन सक्छ । कहिलेकाहीँ जति आक्रामक भएर खेल्दा पनि गोल नै निस्कँदैन । ‘फुटबलमा यस्तै हुन्छ,’ उनले भने, ‘मुख्य कुरा गोल नै हो, त्यो निस्कन सकेन आजको खेलमा । यस्तोमा अबको खेलमा हामीले दबाबमा खेल्न सक्नुपर्ने हुनसक्छ । ती खेल गाह्रो पनि हुनेछ ।’ 

पोखराविरुद्ध धनगढीले शृंखलाबद्ध आक्रमण बुने पनि कुनै निर्णायक हुन सकेन । यसले खेललाई नै निराश बनाएको थियो । यसबीच उनले एउटा गम्भीर गुनासो गर्ने अवसर पनि सदुपयोग गरे । उनको भनाइ थियो, ‘म नेपाली खेलाडीको प्रदर्शनबाट प्रभावित छु । उनीहरूको प्रतिभाबाट पनि प्रभावित छु । तर त्यसलाई सुहाउँदो भौतिक पूर्वाधार नै छैन । यसकै अभावमा धनगढीले मात्र होइन, सबै टिमलाई गाह्रो भएको छ । यसमा ध्यान दिइनुपर्छ ।’ 

आयुष बिरामी

पोखराको चार खेलपछि ४ अंकमात्र भएको छ । पोखराका लागि अलिकति खुसीको उपलब्धि के हुनेछ भने पछिल्ला दुई खेलमा क्लिन सिट निस्केको छ । प्रशिक्षक सुमन श्रेष्ठ आफ्नो टिम प्लेअफ पुग्नेमा भने आत्मविश्वासी देखिन्छन् । उनले भने, ‘हामीले प्ले–अफ पुग्नेछौं, यसमा म निश्चित जस्तै छु । यो खेल जितेको भए हामीले प्ले–अफ खेल्न सम्भावना ८० प्रतिशतभन्दा माथि हुन्थ्यो । बराबरीपछि पनि हाम्रो सम्भावना ६० प्रतिशतभन्दा माथि नै हो ।’

धनगढीविरुद्धको खेलबाट भने उनी खासै प्रभावित हुन सकेनन् । यसको कारण रह्यो, टिमका प्रमुख खेलाडी आयुष घलान बिरामी हुनु । ‘कम्तीमा दोस्रो हाफमा आयुषलाई मैदानमा उतार्ने योजना थियो, तर त्यो पनि सकिएन । उनी बिरामी छन्, ज्वरो आइरहेको छ । उनको अभावमा टिमको प्रदर्शन राम्रो हुन सकेन । यो खेलमा सुरुको १५ मिनेटसम्म त राम्रो रह्यो, त्यसपछि भने प्रदर्शन राम्रो हुन सकेन । आयुषको अभाव खट्कियो ।’

हिमेश

Link copied successfully