कास्की — घरेलु टोली गण्डकी हिरोज केपी ओली कप राष्ट्रिय खुल्ला टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । बिहीबार पानी परेर पोखरा रंगशालास्थित क्रिकेट मैदानको पिच भिजेपछि खेल रद्द भएकोमा नेट रनरेटको आधारमा समूह ‘बी’बाट गण्डकी सेमिफाइनल प्रवेश गरेको हो ।
गण्डकी र हिमालयन क्रिकेट एकेडेमीले १/१ अंक बाँडे । २/२ खेल जितेका दुवैको बराबर ५/५ अंक भयो । त्यसपछि रनरेटको आधारमा गण्डकी सेमिफाइनल प्रवेश गर्यो । गण्डकीको १.४३४६ र हिमालयनको ०.८१५८ नेट रनरेट छ ।
ग्रेट हिमालय क्रिकेट एकेडेमी र चितवन क्रिकेट क्लबबीच पनि बिहीबार नै तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुने तालिका थियो । मौसमकै कारण खेल नभएपछि ग्रेट हिमालय माइनस २.११२८ अंकका साथ तेस्रो र माइनस ३.४७२५ अंकका साथ चितवन पुछारमा रहृयो ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा जारी प्रतियोगितामा शुक्रबार समूह ‘सी’तर्फको खेल सुरू हुनेछ । कर्णाली एकेडेमी र मधेश प्रदेश क्रिकेट क्लबबीच पहिला तथा हिमाल फ्रेन्डस क्रिकेट क्लब र लुम्बिनी खुकुरीबीच दोस्रो खेल हुनेछ ।
समूह ‘ए’बाट सीईसी काठमाडौं सेमिफाइनल प्रवेश गरिसकेको छ । समूह ‘सी’ र ‘डी’का खेल सकिएपछि अन्तिम ४ मा पुग्ने टिमको टुंगो लाग्नेछ ।
फाइनल वैशाख ५ मा हुनेछ ।
