जितपुर सिमरा गोल्डकप : हिमालयन शेर्पा फाइनलमा

चैत्र २८, २०८१

लक्ष्मी साह

Jitpur Simra Gold Cup: Himalayan Sherpas in the final

बारा — सिमरा रंगशालामा जारी प्रतियोगितामा आयोजक नव जनजागृति युवा क्लब सिमरालाई २–१ गोलको अन्तरले हराउँदै ‘ए डिभिजन’ क्लब हिमालयन शेर्पा जीतपुरसिमरा गोल्डकपको उपाधि हात पार्ने दौडमा पुग्ने सौभाग्य पाएको छ । छैटौं दिन बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा उसले फाइनलमा प्रवेश गर्दै उपाधि नजिक पुगेको हो ।

फ्लडलाइटमा हुँदै आएको खेलमा उपस्थित करिब १० हजार घरेलु समर्थकलाई निराश पार्दै हिमालयन शेर्पाले उपाधि भिडन्त अर्को ‘ए डिभिजन’ टोली मच्छिन्द्र फुटबल क्लबसँगको भेट पक्का गर्दै उपाधि दौडमा पुग्न सफल भएको हो । 

हिमालयन शेर्पाले चौथो पटक जितपुर सिमरा गोल्डकपको फाइनल खेल्दै छ । प्रतियोगिताको दास्रो संस्करणको उपाधि जितेको हिमालयन शेर्पाले यसअघि चौथो र तेस्रो संस्करणको फाइनलमा पराजित हुन पुगेको थियो । 

हिमालयन शेर्पाको जितमा समिरराज थोकर र भारतीय खेलाडी रोबर्ट खोङजोले गोल गरे । आयोजक घरेलु टिम नव जन जागृतिका सिमराका लागि युवराज खड्काले गोल गरेका थिए । 

पहिलो हाफ गोलरहित बराबरी खेलेको आयोजकविरुद्ध दोस्रो हाफको सुरुवातमै हिमालयन शेर्पाले रोबर्टको गोलबाट अग्रता बनाउन सफल भएको थियो । खेलको ४७ औं मिनेटमा शिवम् खड्काको क्रस बल नियन्त्रणमा लिँदै आयोजकको डिबक्स भित्रबाटै रोबर्टले सानदार रुपमा आकर्षक गोल गर्न सफल भएको थियो । 

खेलको ५८ औं मिनेटमा हिमालयन शेर्पाका लागि समिरराज थोकरले थप एक गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाउन गोललाई दोब्बर पारे । सेन्टर लाइन नजिकबाट थ्रोइङ पास अघि बढाउँदै आयोजकको रक्षा पंक्ति तोड्न सफल थोकरको पहिलो प्रहार आयोजकका गोलरक्षक युनेश चौधरीले बचाउ गरेका थिए । रिवाउण्ड बललाई पुनः नियन्त्रणमा लिँदै किपर बिट भएको अवस्थामा समीरले गोल गरेका थिए । 

दोस्रो हाफकै खेलको ७३ औं मिनटमा युवराज खड्काले गोल गर्दै आयोजक सिमरालाई खेलमा फर्काउने प्रयास गरेपनि जितका उसको प्रयास सफल भएन । मोहित गुरुङको क्रस पासमा युवराजले गोल गरेका थिए । 

खेलको ग्रीन इनर्जी म्यान अफ दि म्याच हिमालयन शेर्पाका रोबर्ट खोङजो भए । उनले १० हजार नगद र ट्रफी प्राप्त गरे । प्रतियोगिताको फाइनल खेल हिमालयन शेर्पा र मछिन्द्र क्लबबीच शुक्रबार हुनेछ । 

लक्ष्मी साह साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully