ओपनर कुशल भुर्तेल र आशिफ शेखबीच १२७ रनको साझेदारी
काठमाडौँ — हङकङमा जारी चार देशीय टी–२० आई सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ । कुवेतलाई ६ विकेटले पराजित गर्दै नेपालले दोस्रो जित निकालेको हो ।
नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखको पारी उत्कृष्ट रह्यो । यी दुई ओपनरबीच १२७ रनको साझेदारी बनेपछि नेपाल जिततर्फ लम्बिएको थियो ।
टस हारेर पहिले ब्याटिङ गर्दै १८५ रनको विशाल स्कोर बनाएको थियो । १८६ रनको लक्ष्य नेपालले १८ दशमलव ५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ८१ रनको इनिङ्स खेले । उनले ५० बलमा ६ छक्का र ६ चौका प्रहार गरे । यस्तै अर्का ओपनर आशिफ शेखले पनि २ चौका र चार छक्काको सयोगमा ५३ रनको अर्धशतकीय पारी खेले ।
दीपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै मात्र १२ बलमा ३१ रन बनाए । उनले २ चौका र तीन छक्का प्रहार गरे । अन्तिममा गुल्शन झाले दुई चौका हिर्काउँदै नेपाललाई जित दिलाए ।
कुवेतका लागि यासिन पटेलले दुई विकेट लिँदा मोहम्मद सफिक र महम्मद असलमले एक/एक विकेट लिए ।
त्यसअघि पहिले व्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८५ रनको विशाल स्कोर बनाएको थियो । कुवेतका लागि क्लिन्टो एन्टोले सर्वाधिक ४१ रन बनाए । ३० बल खेलेका उनले चार चौका र दुई छक्का प्रहार गरे । यस्तै मीत भवसरले २८ बलमा दुई चौका र दुई छक्कासहित ३५ रन बनाउँदा १३ बल खेलेका बिलाल तहिरले आक्रामक ब्याटिङ गर्दै चार छक्का र एक चौकासहित ३२ रन जोडे ।
यस्तै रभिजा सन्दरुवानले २६, उसमन पटेलले १३ रन बनाउँदा मोहम्मद असलमले नटआउट १७ रन जोडे ।नेपालका लागि सोमपाल कामीले चार ओभरमा ३६ रन खर्चिँदै ३ विकेट लिँदा नन्दन यादवले २ विकेट लिए । यस्तै ललित राजवंशी र कुशल भुर्तेलले एक/एक विकेट लिए ।
बुधबारदेखि सुरु भएको खेलमा नेपालले पहिलो खेल कतारलाई ८ विकेटले पराजित गरेको थियो । पहिला ब्याटिङ गर्दै १५२ रनको लक्ष्य दिएको कतारलाई नेपालले सहजै हराएको थियो । उक्त लक्ष्य नेपालले १७ ओभरमा मात्र दुई विकेटको क्षतिमा पूरा गरेको थियो ।
