काठमाडौँ — हङकङमा जारी चारदेशीय ट्वान्टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार नेपालले आफ्नो दोस्रो खेलमा कुवेतबाट १८६ रनको लक्ष्य पाएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८५ रनको योगफल बनाएको हो ।
कुवेतका लागि क्लिन्टो अन्टोले सर्वाधिक ४१ रन बनाए । ३० बल खेलेका उनले चार चौका र दुई छक्का प्रहार गरे । यस्तै मीत भवसरले २८ बलमा दुई चौका र दुई छक्कासहित ३५ रन बनाउँदा १३ बल खेलेका बिलाल तहिरले आक्रामक ब्याटिङ गर्दै चार छक्का र एक चौकासहित ३२ रन जोडे ।
यस्तै रभिजा सन्दरुवानले २६, उसमन पटेलले १३ रन बनाउँदा मोहम्मद असलमले नटआउट १७ रन जोडे ।
नेपालका लागि सोमपाल कामीले चार ओभरमा ३६ रन खर्चिँदै ३ विकेट लिँदा नन्दन यादवले २ विकेट लिए । यस्तै ललित राजवंशी र कुशल भुर्तेलले एक/एक विकेट लिए ।
बुधबारदेखि सुरु भएको खेलमा नेपालले पहिलो खेल कतारलाई ८ विकेटले पराजित गरेको थियो । पहिला ब्याटिङ गर्दै १५२ रनको लक्ष्य दिएको कतारलाई नेपालले सहजै हराएको थियो । उक्त लक्ष्य नेपालले १७ ओभरमा मात्र दुई विकेटको क्षतिमा पूरा गरेको थियो ।
