काठमाडौँ — होप्सका हिमाल विष्ट र एभीएमकी इभाना थापा दोस्रो राष्ट्रिय खुला जुनियर तथा भेट्रान टेबल टेनिस प्रतियोगिताको जुनियर यू–१९ उमेर समूहमा च्याम्पियन बनेका छन् ।
सिंगल्सको ब्वाइजमा हिमाल र गर्ल्समा इभाना विजेता भए । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा हिमालले स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीका प्रवेश बस्नेतलाई ६–११, ११–६, ११–९, ११–६ को सेटमा पराजित गरे ।
गर्ल्सको फाइनलमा इभानाले एभीएमकै वियन्का राईलाई ७–११, ११–१, ११–७, ११–९ को सेटमा हराइन् ।
भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा खोल्चा पुखुका समीप श्रेष्ठ विजेता भए । उनले फाइनलमा इखाछें स्पोर्ट्स क्लबका मुकेश महर्जनलाई ११–९, ९–११, ११–९, ११–५ को सेटमा हराए ।
प्रतियोगितामा ७ विधामा प्रतिस्पर्धा भएको थियो । यसअघि यू–१५ सिंगल्सको ब्वाइजमा एभीएमका जयस्नु महर्जन र गर्ल्समा पुलिस क्लबकी शुभश्री श्रेष्ठ, भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा इखाछेंका निशान श्रेष्ठ र ६० वर्षमाथि पुरुष सिंगल्समा रजन सुब्बाले स्वर्ण जितेका थिए ।
विजेतालाई आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, प्रतियोगिता संयोजक धर्ममान वज्राचार्य, नौं पटककी राष्ट्रिय टेबलटेनिस च्याम्पियन नविता श्रेष्ठलगायतले पुरस्कृत गरे । चारदिने प्रतियोगितामा २ सय ५० खेलाडीले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ । सातै स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय रुपैयाँ पुरस्कार जिते ।
