दाङ — लुम्बिनी प्रदेश स्तरीय टी–२० क्रिकेट प्रतियोगिता–२०८१ को फाईनलमा वर्षा बाधक बन्दा दाङ र रूपन्देही संयुक्त विजेता भएका छन् ।
बुधबार राति परेको पानीले पिच र आउटफिल्ड भिजेपछि खेल हुन नसक्दा दाङ र रूपन्देही संयुक्त विजेता बनेका हुन् ।
लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजना तथा दाङ जिल्ला क्रिकेट संघको व्यवस्थापनमा दाङमा गरिएको प्रतियोगिताको उपाधिका लागि दुई टीमबीच लमही–५ स्थित देउखुरी क्रिकेट रंगशालामा खेल हुने तय भएको थियो ।
राति हावाहुरीसहितको पानी परेपछि खेल सम्भव हुन सकेन । बिहीबार बिहान घोराही–१७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा फाइनललाई पिच तयार भए पनि फेरि पानी परेपछि अन्ततः दाङ र रूपन्देहीलाई संयुक्त विजेता घोषणा गरिएको हो । संयुक्त विजेताले ७५–७५ हजार रुपैयँसहित शिल्ड उचाले ।
प्रतियोगिताको प्लेयर अफ द सिरिज दाङका तुलबहादुर थापा भए । उनले १० हजारसहित ट्रफी पाए । यसैगरी, बेस्ट बलरका गुल्मीका रामचन्द्र टण्डन र बेस्ट ब्याटर दाङका तुलबहादुर थापा भए । दुवैले जनही ५ हजार पाए । विजेता खेलाडीलाई लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले पुरस्कृत गरे । प्रतियोगितामा रुकुमपूर्वबाहेक लुम्बिनीका ११ जिल्लाको सहभागिता थियो ।
