काठमाडौँ — हङकङमा आजदेखि सुरु भएको टी–२० आई सिरिजको पहिलो खेलमा कतारले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ ।
टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५१ रनको योगफल बनायो ।
कतारका लागि कप्तान इक्रमुल्लाह खानले सर्वाधिक ५४ रनको योगदान दिए । ५४ बल नै खेलेका उनले २ छक्का र पाँच चौका प्रहार गरे ।
यस्तै शाहजीब जमिलले ३१ रन बनाउँदा मुजिब उर रहमानले नटआउट २०, महोम्मद इरशादले नटआउट १८ र अरुमुगगनेश नागार्जनले १३ रन बनाए ।
नेपालका लागि करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्शन झा र ललित राजवंशीले १/१ विकेट लिए । कप्तान रोहित पौडेलले टस जित्दै पहिले फिल्डिङ रोजेका थिए ।
