गोर्खाली रग्बी र आर्मी क्लब विजयी

चैत्र २७, २०८१

कान्तिपुर संवाददाता

Gorkhali Rugby and Army Club victorious

काठमाडौँ — गोर्खाली रग्बी क्लब र त्रिभुवन आर्मी क्लबले पाँचौं फिप्टिन्स रग्बी च्याम्पियनसिपमा बुधबार जित पाएका छन् ।

डिफेन्डिङ च्याम्पियन गोर्खालीले साबिक उपविजेता एपीएफ क्लबलाई प्रतिस्पर्धात्मक खेलमा १४–१२ स्कोरले हरायो । दोस्रो खेलमा आर्मी क्लबले एकपक्षीय रूपमा नेपाल पुलिस क्लबमाथि ४९–३ को फराकिलो जित पायो ।

च्यासल रंगशालामा भएको खेलमा गोर्खालीविरुद्ध पहिलो हाफमा ७–० अग्रता लिएको एपीएफले दोस्रो हाफको सुरुमा अर्को ट्राइ गरेपछि खेल १२–० को स्थितिमा पुग्यो । दबाबमा गोर्खालीलाई खेलमा फर्किन गाह्रो भयो । तर एक ट्राइ र एक कन्भर्जन गर्दै गोर्खालीले पुनरागमन गर्ने क्रममा समय सकिन लाग्दा यदु अधिकारीले अर्को ट्राइ हान्नुका साथ कन्भर्जन गरेपछि गखेर्खालीले १४ अंक जोड्यो ।

एपीएफका खेलाडीले विपक्षीले फाउल खेलेको भन्दै असन्तुष्टि जनाएर खेल मैदान छोडेका थिए । लामो समयपछि एपीएफ मैदानमा नफर्किएपछि रेफ्रीले गोर्खालीलाई विजयी घोषित गरेको हो ।

अर्को खेलमा तीन पटकको च्याम्पियन आर्मीले पुलिसविरुद्ध सहज जित हात पायो । पहिलो हाफमा २२–० ले अगाडि रहेको आर्मीले दोस्रो हाफमा २७ अंक थपेको थियो । पुलिसले पेनाल्टीबाट ३ अंक सान्त्वनास्वरुप जोड्न सक्यो ।

प्रतियोगिताको उद्घाटन नेपाल रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरीले गरेका थिए । नेपाल रग्बी संघले सन् २०१८ देखि थालेको रग्बी फिप्टिन्सको एकमात्र क्लब प्रतियोगिता हो ।

शनिबार गोर्खाली र आर्मी तथा पुलिस र एपीएफबीच प्रतिस्पर्धा हुनेछ । राउन्ड रोविन लिगमा सबैले टोलीले एकअर्काविरुद्ध खेलेपछि शीर्ष टोली प्रतियोगिताको च्याम्पियन बन्नेछ ।  

कान्तिपुर

Link copied successfully