काठमाडौँ — नरेन भट्टको कप्तानीमा नेपालले आईसीसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगिताका लागि मंगलबार १४ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ । आउँदो आइतबारदेखि सुरु हुने आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपालसहित यूएई, ओमान, हङकङ र अफगानिस्तानले प्रतिस्पर्धा गर्दैछन् ।
राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको विजेता २०२६ मा जिम्बावे र नामिबियामा हुने आईसीसी यू–१९ विश्वकपका लागि छनोट हुनेछ । नेपाल यू–१९ विश्वकपमा नवौंपटक छनोट हुने प्रयासमा छ । नेपालले आइतबार यूएईसँग खेलेर छनोट चरणको यात्रा प्रारम्भ गर्नेछ ।
घोषित नेपाल यू–१९ टोलीमा अभिषेक तिवारी, निरजकुमार यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलशाद अली, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री र विपिन शर्मा छन् ।
आईसीसी यू–१९ विश्वकप एसिया छनोटको तयारीका क्रममा नेपाल अहिले अफगानिस्तान यू–१९ सँग तीन खेलको शृंखला खेलिरहेको छ । शक्ति गौचनको प्रशिक्षणमा रहेको नेपाल यू–१९ टोलीले पहिलो दुई खेलमा पराजित भएर शृंखला गुमाइसकेको छ ।
आइतबार नेपाल दोस्रो खेलमा १ रनले पराजित भएको थियो । नेपालले बुधबार अफगानिस्तानसँग तेस्रो तथा अन्तिम यूथ एकदिवसीय खेल्दै छ ।
