तिलोत्तमा — पूर्वमहिला क्रिकेट खेलाडीबीच सिद्धार्थ क्रिकेट मैदानमा सुरु भएको ‘महिला लेजेण्ड टी–२० सिरिज’को पहिलो खेलमा सन् २००९ को टिम विजयी भएको छ । रितु कनौजियाले नेतृत्व गरेको उक्त टिमले सोमबारको पहिलो खेलमा ५ विकेटको जित हासिल गरेको हो ।
जितका लागि ८३ रनको लक्ष्य पछ्याएको सन् २००९ को टिमले ८ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
रितु कनौजियाको टिमको जितमा सरु पुनले ४१ र शोभा आलेले १४ रनको योगदान गरे । बलिङमा सन् २००७ टिमका सुस्मिता चौधरी र निरा राजउपाध्यायले समान १–१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको सन् २००७ को टिम निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८२ रन मात्रै बनाउन सफल भएको थियो । राष्ट्रिय टिमकी पूर्वकप्तान नेरी थापाले नेतृत्व गरेको उक्त टिमका लागि निरा राजउपाध्यायले २३ तथा मधु थापा र नेरी थापा मगरले समान १३/१३ रन बनाएका थिए ।
बलिङमा सन् २००९ को टिमका करुणा भण्डारीले ४, सोनु खड्काले २ तथा रितु कनौजिया र सीता शाहीले समान १–१ विकेट लिए । सिरिजमा लेदर बलको प्रयोग गरिएको छ ।
