महिला लेजेन्ड टी २० सिरिज :  भैरहवामा अन्तर्राष्ट्रिय महिला क्रिकेटरको जमघट

राष्ट्रका लागि खेले पनि पहिचान गुमनाम भएको गुनासो

चैत्र २५, २०८१

सन्जु पौडेल

Women's Legends T20 Series: A gathering of international women's cricketers at Bhairahawa

तिलोत्तमा — नेरी थापा बाँके, नेपालगन्जकी बासिन्दा हुन् । सन् २००७ मा नेपाली महिला राष्ट्रिय टिमको पहिलो कप्तान थिइन् । राष्ट्रिय टिमबाट बिदा लिएको एक वर्षपछि सोमबार उनी सिद्धार्थ क्रिकेट रंगशालामा प्रदर्शन गर्न उत्रिइन् ।

यहाँ सोमबारबाट सुरु दुईदिने महिला लेजेन्ड सिरिजमा भाग लिएपछि नियमित अभ्यास नहुँदा खेल्न गाह्रो हुँदै जाने महसुस गरेको उनको प्रतिक्रिया थियो । ‘दैनिक खेलेकाले जस्तो त नहुने रहेछ,’ उनले भनिन्, ‘लामो ग्यापले गर्दा खेल्न गाह्रो भयो,  तर खेल्ने रहर नमर्दो रहेछ ।’ 

उमेर बढ्दै गए पनि खेलाडीलाई खेल क्षेत्रमा योगदान गर्नका लागि प्रोत्साहन आवश्यक पर्ने उनले बताइन् । जुनसुकै पनि समयमा खेल्न तयार रहून् भन्ने वातावरण राज्यले तयार गर्नुपर्ने उनको भनाइ छ । 

लेजेण्ड कपको संयोजन पूर्वखेलाडी नितु थापाले गरेकी हुन् । बुटवलबाट मुलुकका लागि खेलेकी पूर्व राष्ट्रिय खेलाडी मधु थापाले जापानबाट फोन गरेर आफू बिदामा नेपाल आएको मौकमा महिला क्रिकेटरको सिरिज आयोजना गर्न प्रस्ताव गरे पनि आफू हौसिएको थापाले बताइन् । ‘मधुले जर्सी स्पोन्सर गर्छु मिलेर खेलौं भनेपछि आँट आयो,’ उनले भनिन्, ‘यो लेजेण्ड कपको सुरुवात गरियो, यसलाई निरन्तरता दिने योजना छ ।’ सिरिजले नयाँ पुस्तालाई पूर्वमहिला क्रिकेटर अझै पनि मिहिनेत गर्दैछन्, हामी जाग्नुपर्छ भन्ने हौसला दिने विश्वास रहेको उनले बताइन् ।

खेलमा सहभागिता जनाउन विराटनगर, नेपालगन्ज, महेन्द्रनगर, काठमाडौं, रुपन्देहीका खेलाडी सिद्धार्थ रंगशालामा भेला भएका छन् । मुलुकका विभिन्न ठाउँबाट आएका उनीहरूले स्पर्धा अवधिको आफ्नो खर्च आफैं बेहोरिरहेका छन् । यसरी खेल्नु कुनै पनि राष्ट्रिय खेलाडीका लागि गर्वको विषय हुने उल्लेख गरे । तर, राज्यले आफूहरूका लागि केही नगरेको उनीहरूको गुनासो छ । क्रिकेटको माध्यमबाट आफूहरूले राज्यलाई चिनाएकामा भने खुसी लागिरहने उनीहरूले बताए ।Women's Legends T20 Series: A gathering of international women's cricketers at Bhairahawaरितु कनौजिया र नेरी थापा मगर

जापानदेखि आएर मैदानमा ओपनरको भूमिका निभाइरहेकी मधु थापाले पुरानो जोश र आँट पनि मैदानमा स्वाभाविक देखिएको बताइन् । झण्डै १६ वर्षपछि क्रिकेट खेल्दा आफ्नो समयका खेलाडी र खेलमा गरेको प्रदर्शनको याद ताजा भएको उनले बताइन् । ‘हाम्रो पालामा सामाजिक सञ्जालको व्यापकता थिएन, हामीले त्यस किसिमको प्रचार पनि पाएनौं,’ उनले भनिन्, ‘हामी खेलाडी हौं भनेर कतिले नै चिन्छन् र ? राज्यले चिनाउनु पर्थ्यो, त्यो अवसर हामीले पाएनौं जस्तो लाग्छ ।’ त्यसबेला अभिभावकत्व निर्वाह गर्ने निकाय नै नरहेको पनि उनले गुनासो गरिन् । ‘महिला खेलाडी सबैतिर गुमनाम छौं,’ उनले थपिन्, ‘हामीले ट्रफी ल्याएको, हामीले देशका लागि खेलेको खोइ सम्झेको ? यो विषयले मन पोल्ने गर्छ ।’

भैरहवामा आएका पूर्वखेलाडी सुस्मिता चौधरी, सरस्वती लामगादे, ममता थापा, अम्बिका बुढाथोकी आदिले महिला क्रिकेटरलाई गरिनुपर्ने व्यवहार अहिलेसम्म पनि  सम्मानजनक नभइसकेको बताए । उनीहरूले खेलेबापतको पुरस्कार राशि होस् वा त्यो बेलाको खर्च व्यवस्थापन, सबैतिर कमी भए पनि अहिले सरकारले सम्झेर सम्मान मात्र गरिदिने हो भने खेलिरहेका महिला खेलाडीलाई हौसला मिल्ने बताए । मुलुकको लागि खेलेर नाम राखेका खेलाडीलाई कसैले नचिन्नु, योगदानको फल नपाउनुजस्तै भएको भन्दै उनीहरूले आफूहरूले जोहो गरेर खेल्दा समेत कुनै निकायले लेजेण्ड खेलिरहेका छन् भनेर चासो समेत नदेखाएको उनीहरूले बताए ।

‘सन् २००७ र २००९ मा खेलेका पूर्वराष्ट्रिय र अन्तर्राष्ट्रिय महिला खेलाडीहरूले  लेजेन्ड टी–२० सिरिज प्रतियोगितामा स्पर्धा गरिरहेका छन् । टी–२० फर्म्याटमा खेलाइएको उक्त सिरिजमा सहभागी हुन सन् २००७ को राष्ट्रिय टिमका खेलाडी नेरी थापा मगर, नितु थापा, निरा राजउपाध्याय, माया रावत, मधु थापा, सरस्वती लाम्गादे, बिनु बुढा मगर, सुस्मिता चौधरी, अम्बिका बुढाथोकी, तृष्णा सिंह, ममता थापा, ज्योति कुँवरको एउटा टिम बनाइएको छ । सन् २००९ को टिमका रितु कनौजिया, सोनु खड्का, शोभा आले, रोजी जोशी, सरस्वती चौधरी, खिनाकुमारी थापा, रोजी कडारी, सीता शाही, नीमा महर्जन, करुणा भण्डारीको अर्को टिम बनाइएको छ । केही स्थानीय खेलाडी सहभागी गराइएको छ ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully