दाङमा लुम्बिनी प्रदेशस्तरीय टी-२० क्रिकेट सुरू

रोल्पाविरुद्ध दाङको प्रभावशाली जित

चैत्र २५, २०८१

दुर्गालाल केसी

Lumbini state level T20 cricket starts in Dang

दाङ — लुम्बिनी प्रदेशस्तरीय टी-२० क्रिकेट प्रतियोगिता सोमबारदेखि लमही र घोराहीमा सुरू भएको छ । लुम्बिनी प्रदेश खेलकुद परिषद्‌को आयोजना तथा दाङ जिल्ला क्रिकेट संघको व्यवस्थापनमा सुरु भएको प्रतियोगितामा दाङ रोल्पालाई १० विकेटको प्रभावशाली जित हासिल गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।

घोराही–१७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा रोल्पाले दिएको २६ रनको सामान्य लक्ष्य दाङले ४ दशमलव २ ओभरमा बिना विकेटको क्षतिमा २७ रन बनाउँदै सेमिफाइनलमा पुगेको छ ।

दाङका लागि कप्तान सुशान्तसिंह थापाले १३ बलमा ३ चौकासहित १३ रन र आकाश पाण्डेले १३ बलमा ३ चौकासहित १४ रन जोड्दै सहज जित दिलाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको रोल्पाले बिर्सनलायक प्रदर्शन गर्‍यो । १० दशमलव ४ ओभरमा सबै विकेट गुमाएर जम्मा २५ रन बनाएको रोल्पाका लागि दुर्गेश पुरीले सबैभन्दा धेरै १३ रन जोडे । उनले २७ बलमा ३ चौकासहित १३ रन जोडेर शुभम खनालको बलमा बोल्ड आउट भए ।

Lumbini state level T20 cricket starts in Dang

आकाश गुरुङले २ रन र अक्रम अलीले २ रन बनाए । अरु खेलाडीले खाता नै खोल्न सकेनन् । रोल्पाका ९ विकेट बोल्डआउटका रुपमा खसेको थियो ।

८ दशमलव ३ ओभरमा ५ विकेट गुमाउँदै २४ रन जोडेको रोल्पाले थप १ रन जोड्दा पाँच विकेट गुमायो । रोल्पाको ब्याटिङ लाइनअप धरासयी पार्न दाङका स्पिनरद्वय शुभम खनाल र किशन भारतीले घातक बलिङ गरे ।

शुभम खनालले १ दशमलव ४ ओभर बलिङ गर्दै जम्मा २ रन खर्चेर ३ विकेट लिँदा एउटा रन आउट पारे ।

किशन भारतीले पनि २ ओभर बलिङ गर्दै ४ रन खर्चेर ३ विकेट हात पारे  । दाङका लागि बीरबहादुर घर्तीले २ ओभर बलिङ गर्दै २ मेडनसहित शून्य रनमा १ विकेट लिए । दिनेश बोहराले २ ओभरका १ मेडनसहित ३ रन दिएर १ विकेट लिँदा करण जिएमले १ ओभरमा १ रन दिएर १ विकेट लिए ।

कसिलो बलिङ गर्दै रोल्पालाई कम रनमा अलआउट गराउन महत्त्वपूर्ण भूमिका खेलेका दाङका शुभम खनाल 'प्लेयर अफ दि म्याच' भए ।

प्रदेशमा क्रिकेटको विकासका लागि खेलकुद परिषद्‌ले लुम्बिनीका खेलाडीलाई एकै थलोमा राखेर प्रतियोगिता आयोजना गरेको लुम्बिनी प्रदेश खेलकुद परिषद्‌का सदस्य कैलाश रोका मगरले बताए ।

दाङमा पछिल्लो समय क्रिकेट प्रतियोगिता भइरहेका छन् । जिल्लामा पर्याप्त क्रिकेट पूर्वाधार र प्राविधिक जनशक्ति उपलब्धताका कारण सहज रुपमा प्रतियोगिता आयोजना गर्न सम्भव भइरहेको दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैँयाले जानकारी दिए । उनले लमहीको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र घोराहीको घोराही क्रिकेट रंगशालामा एकै पटक खेल आयोजना हुँदा समय र लागत बचतसँगै खेलको प्रभावकारिता बढेको बताए ।

प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा रुकुम पूर्व बाहेक लुम्बिनीका ११ जिल्लाको सहभागिता रहेको छ । चैत २८ गतेसम्म चल्ने प्रतियोगिताले खेलाडीका क्षमता विकाससँगै आगामी जेठमा हुन लागेको दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोटका आधार तय गर्ने लुम्बिनी प्रदेश खेलकुद परिषद्‌का सदस्य सचिव तिरनदाज गौतमले जानकारी दिए । उनले परिषद्‌ले पहिलो पटक क्रिकेट प्रतियोगिता आयोजना गरेर खेलाडीको अन्तरनिहीत प्रतिभा उजागर गर्न सघाउ पुग्ने बताए । साथै, नेपाल क्रिकेट संघ क्यानले मान्यता नदिएका जिल्लामा रहेका प्रतिभावान खेलाडी पहिचान गर्ने प्रतियोगिताले उद्देश्य राखेको पनि उनले  बताए ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully