कालिका कपको उपाधि गलकोट नगरपालिकालाई

चैत्र २५, २०८१

प्रकाश बराल

Kalika Cup title to Galkot municipality

बागलुङ — चैते दसैं मेलाको अवसरमा बागलुङमा सञ्चालन भएको कालिकाकप पुरुष भलिबल प्रतियोगिता गलकोट नगरपालिकाले जितेको छ ।

सोमबार भएको फाइनल खेलमा गलकोटले जैमिनी नगरपालिकालाई ३–१ को सेटमा जित निकालेको हो । बागलुङ कालिका मन्दिर परिसरको उद्यानमा सयौं दर्शकमाझ आयोजित खेलमा गलकोटले जैमिनीलाई स्तब्ध बनायो । 

पहिलो खेल २५–१८ मा जित निकालेको जैमिनीले त्यसपछिका तीन खेलमा लगातार हार व्यहोर्नु पर्‍यो  । सयौं समर्थक भएर पनि खेल परिणाममा नपुगेपछि जैमिनीका खेलाडी निराश भए । गलकोटले २५–१८, २५–१७ र २५–२० अंकले खेल जितेको थियो । 

खेल जितेर गलकोट नगरपालिकाले २ लाख नगद पुरस्कार, ट्रफी मेडल र प्रमाणपत्र पायो । द्वितीय भएको जैमिनीले एक लाख रुपैयाँ पुरस्कारमा चित्त बुझायो । फाइनल खेलका लागि आइतबार भएको सेमिफाइनल खेलमा गलकोटले कुश्मा नगरपालिका र जैमिनी नगरपालिकाले काठेखोला गाउँपालिकालाई पराजित गरेको थियो ।

गलकोटले कुश्माविरुद्धको खेलमा २५–२२, २५–२२ र २५–१९ अंक र जैमिनीले २५–२३, २५–१७ र २५–२० को अंकले खेल जितेको थियो ।

खेलमा १० टिम सहभागी थिए । सेमिफाइनल खेलेका दुवै टिमले २५ हजारको दरले नगद पुरस्कार पाएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully