इन्डो–नेपाल क्रिकेट : पटना र सुपोल विजयी

चैत्र २५, २०८१

कान्तिपुर संवाददाता

Indo-Nepal Cricket: Patna and Supol win

विराटनगर — चौथो मिल्स कप इण्डो–नेपाल टी–२० क्रिकेट प्रतियोगितामा भारतको हाइपर फार्मेन्स क्रिकेट एकेडेमी पटनाले सोमबार झापालाई हराउँदै सेमिफाइनल यात्रा तय गरेको छ । पटनाले झापा क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

विराटनगरको जुट मिल खेलमैदानमा टस जितेर पहिले ब्याटिङ गरेको झापा १८ दशमलव ५ ओभरमा अलआउट हुँदै १३७ रनमा सीमित भयो । झापाका लागि अंकित सुवेदीले २७, भूपाल दंगालले २६ र समिर कार्कीले १९ रन बनाए । 

वलिङमा पटनाका रिहान दास गुप्ताले ३ दशमलव ५ ओभरमा १९ रन खर्चेर ३ विकेट र मनमोहनले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । 

जवाफी ब्याटिङमा पटनाले १३८ रनको लक्ष्य १७ दशमलव २ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । पटनाका सुदर्शन सिंहले आक्रामक ब्याटिङ गर्दै ५२ बलमा अविजित ८३ रन बनाए । उनले ६ छक्का र ७ चौका प्रहार गरे । प्यलेर अफ द म्याचसमेत बन्दै उनले नगद ३ हजार रुपैयाँ हात पारे । 

अनुज रञ्जनले ४२ बलमा ३७ रन र कुमार श्रेयले १३ रनको योगदान दिए । झापाका बलरहरूमध्ये ज्ञानु श्रेष्ठले ३ दशमलव २ ओभरमा २९ रन खर्चेर २ विकेट र सिद्धार्थ कुमारले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिए ।

सोमबारै सम्पन्न अर्को खेलमा भारतको सुपोल क्रिकेट क्लब (मुन) ले बिहार–११ माथि ठूलो अन्तरको जित दर्ज गरेको छ । सुपोलले बिहारलाई १२१ रनले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको सुपोलले २० ओभरमा ५ विकेट गुमाउँदै २०६ रनको विशाल योगफल खडा गरेको थियो । सुपोलको आक्रामक ब्याटिङमा ऋषु कुमारले ४० बलमा ५ छक्का र ४ चौकाको मद्दतले अविजित ५९ रन बनाए । एमडी अमनले पनि उत्कृष्ट प्रदर्शन गर्दै २६ बलमा ५३ रनको आक्रामक इनिङ्स खेले ।

२०७ रनको कठिन लक्ष्य पछ्याएको बिहारले सुरुवातदेखि नै दबाबको सामना गर्नुपर्‍यो । सुपोलका बलरहरूको उत्कृष्ट प्रदर्शनअगाडि बिहारका ब्याट्सम्यान क्रिजमा टिक्नै सकेनन् र १३ ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटियो । 

सुपोलका तीव्र गतिका बलर प्रेम कुमारले कसिलो बलिङ गरे । उनले ४ ओभरमा केवल १५ रन खर्चेर ६ विकेट लिए, जुन यस प्रतियोगिताको अहिलेसम्मकै उत्कृष्ट बलिङ प्रदर्शन हो । उनी खेलको प्यलेर अफ द म्याच भए । 

मंगलबारको पहिलो खेल आयोजक मिल्स क्रिकेट क्लब र होराइजन क्रिकेटबीच र दोस्रो खेल सिद्धार्थ स्पोर्टिङ क्लब (एनबीएससी) विराटनगर र सुपोल क्रिकेट क्लब (मुन) बीच हुने आयोजकले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully