काठमाडौँ — हिमालयन चेस एकेडेमीले कमनवेल्थ चेस च्याम्पियनसिप (सन् १९९९) को उपाधि विजेता आईएम (इन्टरनेसनल मास्टर) अतनु लहिरीलाई ल्याएर आइतबारदेखि विशेष प्रशिक्षण थालेको छ ।
एकेडेमीले इन्टरमिडियट तहका विद्यार्थीका निम्ति ‘मास्टरक्लास विथ आईएम लहिरी’ सञ्चालनमा ल्याएको हो भने प्रशिक्षकका निम्ति टीओटी (ट्रेनिङ फर ट्रेनर्स) सुरु गरेको हो । मास्टरक्लासमा ओपनिङ, मिड गेम स्ट्रटिजी, इन्ड गेमलगायतमा प्रशिक्षण दिइने छ । एकेडेमीको काठमाडौं महानगरपालिका ११, थापाथालीस्थित आफ्नै चेस हलमा सञ्चालित विशेष प्रशिक्षण एक साता चल्नेछ ।
‘नेपालमा व्यवस्थित तवरले सैद्धान्तिक रुपमा चेसको प्रशिक्षण गर्न गराउन कठिन छ, त्यसैले अन्तर्राष्ट्रिय स्तरमै ख्यातिप्राप्त फिडे ट्रेनर लहिरीलाई काठमाडौं ल्याएका हौं,’ हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बू भन्छिन्, ‘वल्र्ड च्याम्पियन गुकेशसहित रमेशबाबु प्रागानन्द, सूर्यशेखर गांगुली, सन्दीपन चन्दलगायत थुप्रै जीएम (ग्रान्डमास्टर) लाई प्रशिक्षण दिइसकेका उहाँ वर्ल्डक्लास कोच हुनुहुन्छ । हाम्रा खेलाडीलाई वर्ल्ड लेभलको प्रशिक्षण दिनकासाथै हाम्रा प्रशिक्षकको स्तरवृद्धिका निम्ति उहाँलाई ल्याएका हौं । उहाँले आगमनले पक्कै पनि नेपाली चेसको स्तरबृद्धिमा योगदान पुग्नेछ ।’
करिअरको उच्च लयमा फिडे रेटिङ २४५० पुगेका लहिरीले झण्डै तीन दशकको कोचिङ करिअरमा नेपालसहित, भुटान, गुयना, थाइल्यान्ड, मंगोलिया र भारतका राष्ट्रिय टिम सम्हालिसकेका छन् । यसअघि उनले सन् २००५ मा नेपाली राष्ट्रिय टिमलाई प्रशिक्षण दिएका थिए । कोलकाताका ५३ वर्षीय उनले इलामको रामप्रसाद गौतम स्मृतिलगायत नेपालमा आयोजित चार वटा प्रतियोगिताको उपाधि पनि जितेका छन् ।
विश्व चेस महासंघ (फिडे) को एडुकेसन कमिसनमा महादेसीय प्रतिनिधिको जिम्मेवारी निर्वा गरिसकेका लहिरी बेंगाल चेस संघमा सचिव तथा अल इन्डिया चेस एसोसिएसनका उपसचिवको कार्यभार सम्हालेको अनुभव पनि छ ।
२०८० चैत १ गते स्थापित हिमालयन चेस एकेमेडीले सात वटा प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ । उसले एसईई कप, हिमालयन १०० फर गिनिज वल्र्ड रेकर्ड्स, हिमालयन तीज चेस टोर्नी, प्यट्रिओटिक पन च्याम्पियनसिप, हिमालयन डुओ, शिमालयन ब्लिज कप र हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप आयोजना गरेको थियो । चेसमा नयाँ स्वरुपको फ्रिस्टाइल प्रतियोगिता नेपालमै पहिलोपल्ट गत चैत १ गते सञ्चालन गरिएको थियो ।
