इन्डो-नेपाल ट्वान्टी-२० क्रिकेट : पटना र सिरहाको सानदार जित

चैत्र २४, २०८१

कान्तिपुर संवाददाता

Indo-Nepal Twenty-20 Cricket: Patna and Siraha win

विराटनगर — विराटनगरमा जारी मिल्स कप इन्डो-नेपाल ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको चौथो संस्करणमा भारतको पटना फर्मेन्स क्रिकेट एकेडेमी र सिरहा जिल्ला क्रिकेट क्लब क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । आइतबार भएका छुट्टाछुट्टै खेलमा पटनाले दिल्ली युथ क्लबलाई ८ विकेटले हरायो  भने सिरहाले डिजायर क्रिकेट क्लब (पूर्णिया)लाई ७ विकेटले पराजित गर्‍यो ।

जुटमिल खेल मैदानमा भएको पहिलो खेलमा पटनाका कुमार श्रेयले अविजित १०८ रनको महत्त्वपूर्ण योगदान दिए । दिल्लीले बनाएको १६८ रनको लक्ष्य पटनाले १२ दशमवल १ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो ।  श्रेय प्लेयर अफ द म्याच पनि भए ।  अनुज रञ्जनले २७,  रिशन राकेश १८ र गोलु मिश्रले १२ रनको योगदान दिए । 

दिल्लीका बलरहरूले खास प्रभाव पार्न सकेनन् । जसमा साहिल अन्सारी र नितेश चौधरीले १–१ विकेट लिए । दिल्लीले २० ओभरमा १६७ रन बनायो ।  तर उनीहरूको ब्याटिङ लाइनअप कमजोर रह्यो ।  रोहन महालदनले ४१  वाहेक अन्य खेलाडीहरूले दोहोरो अंक जोड्न सकेनन् ।  पटनाका शशि आनन्दले ३ विकेट लिए । 

दोस्रो खेलमा सिरहाले भारतको पूर्णियालाई ७ विकेटले हरायो । पूर्णियाबाट पाएको १२६ रनको लक्ष्य १३ दशमलव ५ ओभरमा नै पूरा गर्‍यो ।  सिरहाका दिपेश पासले ४४ रन बनाए । राकेश कामतले २१ रनको योगदान दिए । 

पहिले ब्याटिङ गरेको पूर्णियाले १९ दशमलव ५ ओभरमा १२५ रन बनाएको थियो । जसमा रिजक कुमारले २४ रन बनाए ।  सिरहाका बलर फतेह सिद्धिकीले ३ विकेट लिए । उनी प्लेयर अफ द म्याच पनि भए ।  सोमबार  भारतको बिहार क्रिकेट क्लब र फारबिजगन्ज मुन क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

कान्तिपुर

Link copied successfully