अस्ट्रेलियन ओपनमा एरिकालाई स्वर्ण

चैत्र २४, २०८१

ध्रुव तुलाधर

Gold for Erica at the Australian Open

काठमाडौँ — नेपाली करातेकी ‘हिमालयन वारियर’ एरिका गुरुङले शनिबार अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिप २०२५ मा स्वर्ण पदक जितेकी छन् । अस्ट्रेलियाको सिड्नीमा भएको च्याम्पियनसिपमा एरिकाले महिला ६८ केजीमाथि तौल समूहमा स्वर्ण जितेकी हुन् ।

एरिकाले दुई साताअघि सम्पन्न नेपाल कराते महासंघको साधारणसभाबाट ‘हिमालयन वारियर’ को उपाधि पाएकी थिइन् । आफूले सहभागिता जनाएको हरेक प्रतियोगितामा पदक जितेकी उनलाई यो उपाधि प्रदान गर्नुले कराते खेलाडीमा थप प्रेरणा र उर्जा मिल्ने महासंघको विश्वास थियो ।

अस्ट्रेलियन ओपन करातेमा एरिकाले स्वर्ण जित्दा शनिबार नेपालबाट सहभागी अन्य चार खेलाडीले कांस्य पदक जितेका छन् । कांस्य जित्नेमा पुरुष ६७ केजीमुनि सन्तोष श्रेष्ठ, महिला ५० केजीमुनि वर्षा बुढामगर, ५५ केजीमुनि पुष्पका लामा र ६१ केजीमुनि सविना श्रेष्ठ रहेका छन् ।

अस्ट्रेलियाबाटै खेलेका नेपाली खेलाडीले पनि तीन पदक जितेको छ । त्यसमा विजय श्रेष्ठले ६० केजीमुनि रजत, दिवस श्रेष्ठले ८४ केजीमाथि र सोनम लामाले ६० केजीमुनि तौल समूहमा १–१ कांस्य जितेका हुन् ।स्वर्ण जित्ने क्रममा एरिकाले तीन फाइट जितिन् । सबै प्रतिद्वन्द्वी अस्ट्रेलियन हो । फाइनलमा उनले बोये क्रिस्टलमाथि ५–० अंकले जित पाइन् । त्यसअघि पहिलो खेलमा स्यालन पिटरसनलाई ९–० र दोस्रो खेलमा सुन्दिन रोनी किरीलाई ८–० ले हराएर एरिका फाइनल पुगेकी थिइन् । क्रिस्टल र किरी अस्ट्रेलियाबाट वर्ल्ड च्याम्पियनसिप र कन्टिनेन्टल च्याम्पियनसिप खेलिसकेका खेलाडी हुन् ।

एरिका, वर्षा र सन्तोष ‘मिसन २०२६’ क्याम्पमा छन् । अन्य खेलाडी राष्ट्रिय टोलीका हुन् । सन्तोषले पनि दुई फाइट जितेका थिए । उनीहरूको प्रशिक्षकमा सागका स्वर्ण विजेताद्वय कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ छन् । 

प्रशिक्षक कुशल श्रेष्ठले अस्ट्रेलियन ओपनमा आफ्ना खेलाडीहरूले उच्च प्रदर्शन गरेको र यसले आसन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूका लागि एक्सपोजर मिलेको बताए । उनले भने, ‘एरिकाले वर्ल्ड च्याम्पियनसिप खेलेका खेलाडीसँग खेलिन् । उनको प्रदर्शन उच्च रह्यो । हाम्रा खेलाडीलाई एक्सपोजर चाहिएको हो । त्यो अस्ट्रेलियन ओपनमा पाएका छौं । पदक जितले उत्साह मिलेको छ ।’ 

१९ औं एसियाली खेलकुद २०२३ मा ऐतिहासिक रजत पदक जितेपछि चर्चामा आएकी एरिकाले त्यसयताका अन्तर्राष्ट्रिय प्रतियोगितामा जितेका पदकहरू नेपाली करातेका लागि बहुमूल्य बनिरहेको छ । 

एसियाडमा इतिहास रचेको एक वर्षपछि सोही स्थान (हाङचाउ, चीन) मा २० औं एसियन सिनियर कराते च्याम्पियनसिपमा रजत जितिन् । च्याम्पियनसिपमा करातेले जितेको पहिलो रजत थियो । युएसए ओपनमा स्वर्ण जितिन् । जहाँ नेपालले जितेको पहिलो स्वर्ण थियो । डब्लूकेएफ कराते लिग, दुबईमा जितेको रजत पनि नेपालका लागि लिगको पहिलो थियो । एरिकाको पहिलो अन्तर्राष्ट्रिय पदक नै स्वर्ण थियो । एसियाड खेल्नु एक महिनाअघि इन्डोनेसियामा भएको १० औं वर्ल्ड सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् ।

स्वर्ण विजेता एरिकाले उत्साहित हुँदै भनिन्, ‘आफ्नो ट्रेनिङमा इम्प्रुभमेन्ट गरिरहेको रिजल्ट चाहिँ यो गेमले देखाएको छ । ट्रेनिङ प्रभावकारी ढंगले अघि बढिरहेछ भन्ने अनुभव भएको छ । प्रतिद्वन्द्वीहरू पनि राम्रो हुनुहुन्थ्यो । ट्रेनिङमा जस्तो गरेको छु, अन्तर्राष्ट्रिय एरिनामा लागू गर्न पाउँदा आफूलाई जाँच्ने पाइयो । एक्सपोजर पाइयो, यसबाट मलाई राम्रो सिकाइ मिलेको छ । आउने गेमका तयारी गर्न थप उर्जा मिलेको छ ।’

ध्रुव तुलाधर तुलाधर दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका छन् । उनी हाल कान्तिपुर दैनिकको खेलकुद ब्युरोमा कार्यरत छन् ।

Link copied successfully