प्रीति प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिताको शनिबारको खेलमा आयोजकद्वारा नवलपरासी ५–० गोल अन्तरले पराजित
तिलोत्तमा — बुटवलमा सुरु प्रीति प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बीस पचहत्तर क्लबले विजयी सुरुवात गरेको छ । सिद्धेश्वर माध्यमिक विद्यालायको प्राङ्गणमा शनिबार भएको पहिलो खेलमा आयोजकले नवलपरासीलाई ५–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।
खेल सुरु भएको २२ औं मिनेटमा ऐश्वर्य बमरेले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाइन् । खेलको ३० औं मिनेटमा मीना देउवाले गोल गरिन् । पहिलो हाफ २ गोलले अग्रता लिएको आयोजक दोस्रो हाफमा थप आक्रामक खेल्यो । खेलको दोस्रो हाफमा मीनाले व्यक्तिगत दोस्रो गोल गरिन् । त्यस्तै रुपा बुढाथोकी, प्याउली रायले १/१ गोल गरे । खेलमा आयोजक बीस पचहत्तर युवा क्लबकी मीना देउवा 'प्लेयर अफ' द म्याचबाट पुरस्कृत भइन् ।
यस अघि खेलको उद्घाटन सत्र शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले खेलकुदको हबका रूपमा बुटवलको पहिचान बन्दै गएको दाबी गरेकी थिइन् । खेलमार्फत पर्यटनको सम्भावनालाई मध्यनजर गरी यहाँ खेलकुद गतिविधि र खेलाडी उत्पादनको अभियानलाई जोड दिएको उनले बताइन् । ‘पुस महिनाबाट दैनिकजसो खेल प्रतियोगिता भइरहेका छन्,’उनले भनिन, 'हामी खेलमार्फत बुटवललाई चिनाउन चाहन्छौं ।'
भारतको एक क्लबसहित आठ टिम सहभागी प्रतियोगिताको उपाधि विजेता टिमले १ लाख रुपैयाँ , कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले ५० हजार पुरस्कार पाउनेछ । आइतबार ट्रिनेटी युवा क्लब वालिङ र वीरगन्ज युथ क्लबका बीमा खेल हुने खेल संयोजक बुद्धिबहादुर दर्जीले बताए।
